काठमाण्डौ । पछिल्लो समय कर्जा लगानी केही बढ्न थालेको देखिएको छ। 

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार पछिल्लो ११ दिनमा बैंक तथा वित्तीय संस्थाहरुको कर्जा लगानी ९ अर्ब रुपैयाँले बढेको छ। गत साउन १४ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल कर्जा ४८ खर्ब ४३ अर्ब रुपैयाँ रहेकोमा साउन २५ गतेसम्म बढेर ४८ खर्ब ५२ अर्ब रुपैयाँ भएको छ। 

यो अवधिमा वाणिज्य बैंकहरुबाट मात्रै थप ८ अर्ब कर्जा लगानी विस्तार भएको छ। साउन २५ गतेसम्म वाणिज्य बैंकहरुको कुल कर्जा लगानी ४२ खर्ब ९२ अर्ब रुपैयाँ रहेको छ। गत साउन १४ गतेसम्म कुल कर्जा लगानी ४२ खर्ब ८४ अर्ब रुपैयाँ थियो। 

राष्ट्र बैंकका सहप्रवक्ता डिल्लीराम पोखरेलका अनुसार साउन २४ गतेसम्म बैंकिङ प्रणाली अधिक तरलता ५६ अर्ब रुपैयाँ रहेको छ। ‘यसले बैंकहरुसँग लगानी गर्न प्रशस्त रकम रहेको मान्न सकिन्छ’, उनले भने, ‘कर्जा प्रवाह विस्तारै बढ्दै पनि छ। आर्थिक वर्षको पहिलो साउनमा खासै गतिविधि हुँदैन। त्यसैले भदौ–असोजबाट भने कर्जा विस्तारले पनि गति लिन सक्छ।’

राष्ट्र बैंकका अनुसार साउन २५ गतेसम्म बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेप ५६ खर्ब रहेको छ। गत साउन १४ गते कुल निक्षेप ५६ खर्ब १५ अर्ब रुपैयाँ थियो। निक्षेप भने १५ अर्ब रुपैयाँले घटेको छ। 

यो वाणिज्य बैंकहरुको निक्षेप पनि १४ अर्ब रुपैयाँले घटेको छ। गत साउन १४ गतेसम्म वाणिज्य बैंकहरुको कुल निक्षेप ४९ खर्ब ४४ अर्ब रुपैयाँ रहेकोमा साउन २५ गतेसम्म घटेर ४९ खर्ब ३० अर्ब रुपैयाँमा झरेको छ। 

साउन २५ गतेसम्म बैंकहरुको अन्तरबैंक ब्याजदर ५.६ प्रतिशत र औसत सीडी रेसियो ८३ प्रतिशतको लाइनमा रहेको छ।