काठमाण्डौ । अस्ट्रेलियाका प्रायः सबै मुख्य बैंकका वेबसाइटहरु बिहीबार बिहान नचल्दा बैंकिङ सेवा प्रभावित भएको छ। 

अस्ट्रेलियाका एएनजी, वेस्टप्याक, सेन्ट जर्ज, मी बैंक, म्याक्युयर बैंक, अलिअन्ज र कमनवेल्थजस्ता मुख्य बैंकहरुको वेबसाइटहरु नचल्दा बैंकिङ सेवा प्रभावित भएको हो। यी बैंकका मोबाइल बैंकिङ सेवा पनि अवरुद्ध हुँदा सेवाग्राही निकै प्रभावित भएका छन्।

यसअघि अस्ट्रेलिया र अमेरिकाका एयरलायन्स कम्पनीहरुका वेबसाइट पनि चलेका थिएनन्। जसका कारण अमेरिकन एयरलायन्स, साउथवेस्ट एयरलाइन्स, युनाइटेड एयरलाइन्स र डेल्टा एयरलाइन्स र भर्जिन अस्ट्रेलिया एयरलाइन्सका सेवा प्रभावित भएका थिए। 

एएफपीका अनुसार बैंक तथा एयरलायन्स कम्पनीहरुका वेबसाइट नचल्नुको कारण पत्ता लागेको छैन। ‘वेबसाइटमा समस्या आउँदा हाम्रा सेवाग्राही प्रभावित भएका छन्’, कमनवेल्थ बैंकले भनेको छ, ‘वेबसाइटहरु नचल्दा मुख्य बैंकहरुका साथै दर्जनौँ संस्थाहरुका सेवाहरु प्रभावित भएका छन्।’

केही घन्टापछि भने कमनवेल्थ बैंकको वेबसाइट सञ्चालनमा आएको थियो। उसले वेबसाइट अवरुद्ध भएको अवधिमा सेवाग्राहीले धैर्यता देखाएकोमा धन्यवाद पनि दिएको छ। 

यसरी वेबसाइट तथा मोबाइल बैंकिङ सेवा बन्द हुनको मुख्य कारण भने त्यहाँको सेवा प्रदायक कम्पनी अकमाई जिम्मेवार रहेको कमनवेल्थ बैंकका कर्मचारीहरुले आरोप लगाएका छन्। यो कम्पनी संसारकै ठूलो नेटवर्क डेलिभर गर्ने कम्पनी हो । 

केही समयअघि सीएनडी, फास्ट्लीजस्ता कम्पनीका वेबसाइटहरु पनि एक घन्टाभन्दा बढी समयका लागि अवरुद्ध हुँदा उच्च प्रोफाइलका कम्पनीहरु अमेजन तथा बेलायत सरकारका सेवाहरु प्रभावित भएका थिए। – एजेन्सी