काठमाण्डौ । जीवन बीमा कम्पनीहरुले वैदेशिक रोजगार बीमालेख (वैदेशिक रोजगार म्यादी जीवन बीमा)बाट गत आर्थिक वर्ष २०७९–८० को अन्त्यसम्ममा करिब सवा ३ अर्ब रुपैयाँ कुल बीमाशुल्क आर्जन गरेका छन्।
नेपाल बीमा प्राधिकरणले सार्वजनिक गरेको तथ्यांकअनुसार १० जीवन बीमा कम्पनीले म्यादी जीवन बीमा पोलिसीमार्फत ३ अर्ब २१ करोड ८८ लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेका हुन्। सबैभन्दा बढी सन नेपाल लाइफले मात्रै असार मसान्तसम्म १ अर्ब ८ करोड १ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमालेखमार्फत प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै दोस्रोमा नेपाल लाइफ रहेको छ। नेपाल लाइफले पनि उक्त पोलिसीमार्फत ४७ करोड ५० लाख रुपैयाँ प्रिमियम कलेक्सन गरेको छ।
त्यस्तै आइएमई लाइफले ४३ करोड ६६ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ३९ करोड १० लाख रुपैयाँ, सानिमा रिलायन्सले २५ करोड ५३ लाख रुपैयाँ, सिटिजन लाइफले १९ करोड ९० लाख रुपैयाँ, रिलायबल नेपाल लाइफले १९ करोड १५ लाख रुपैयाँ, नेसनल लाइफले १४ करोड ७२ लाख रुपैयाँ, साविक प्रभु लाइफले २ करोड ३४ लाख रुपैयाँ र एसियन लाइफले १ करोड ९२ लाख रुपैयाँ वैदेशिक रोजगार म्यादी जीवन बीमा पोलिसीमार्फत प्रिमियम कलेक्सन गरेका छन्।
हाल १० वटा जीवन बीमा कम्पनीहरुले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन्। असार मसान्तसम्म कुल सक्रिय रहेको बीमालेखको संख्या १६ लाख २९ हजार ५७५ रहेको छ। सबैभन्दा बढी सन नेपाल लाइफमा मात्रै कुल सक्रिय बीमालेख संख्या ७ लाख ४६ हजार ९२५ रहेको छ।
वैदेशिक रोजगार म्यादी जीवन बीमालेखले जीवन बीमा कम्पनीहरुको व्यवसाय वृद्धिमा ठूलो योगदान पुर्याएको छ। नेपाल सरकारले समेत श्रम स्वीकृति लिई वैदेशिक रोजगारमा जानेहरुलाई अनिवार्य बीमा गर्नुपर्ने प्रावधान लागू गरेसँगै बीमा कम्पनीहरुले धमाधम यो बीमालेख जारी गरेका हुन्।
गत वर्षको साउन महिनादेखि नै अन्य बीमा कम्पनीहरुले पनि वैदेशिक रोजगार बीमालेख बिक्री गर्न थालेका हुन्।
यसअघि बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख बिक्री गर्न सीमित कम्पनीलाई मात्रै अधिकार दिएको थियो। गत वर्षको असार मसान्तसम्म उक्त बीमालेखमार्फत जम्मा २१ करोड २० लाख रुपैयाँ प्रिमियम कलेक्सन भएको थियो।
यसका साथै सबैभन्दा बढी बागमति प्रदेशबाट मात्रै ३ अर्ब २१ करोड २३ लाख रुपैयाँ प्रिमियम वैदेशिक रोजगार म्यादी जीवन बीमालेखमार्फत संकलन भएको छ। दोस्रोमा मधेश प्रदेशबाट २५ लाख ५ हजार, लुम्बिनी प्रदेशबाट २२ लाख ९९ हजार, गण्डकी प्रदेशबाट ८ लाख ३४ हजार, कोशी प्रदेशबाट ५ लाख ५३ हजार, सुदूरपश्चिम प्रदेशबाट २ लाख १७ हजार र कर्णाली प्रदेशबाट ९१ हजार रुपैयाँ प्रिमियम संकलन भएको छ।
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago
10 months ago