काठमाण्डौ । जीवन बीमा कम्पनीमध्ये हाल १० वटा कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गरिरहेका छन् । 

नेपाल बीमा प्राधिकरणले वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धि कार्यविधि खारेज गरी सबै कम्पनीलाई व्यवसाय गर्ने बाटो खोलेपनि १० वटा कम्पनीले मात्रै यो बीमालेख बिक्री गरेका छन् । 

१४ वटा बीमा कम्पनीमध्ये एलआईसी नेपाल, मेट लाइफ, हिमालयन लाइफ र राष्ट्रिय जीवन बीमा कम्पनीले यो बीमालेख बिक्री गरेका छैनन् । तत्कालिन बीमा समितिले २०७९ साउन १ गतेदेखि वैदेशिक रोजगार म्यादी जीवन बीमालेख पुल सम्बन्धी कार्यविधि खारेज गरेपछि हाल १० वटा कम्पनीले सो बीमालेखमार्फत्  राम्रो व्यवसाय गरिरहेका छन् । 

चालू आर्थिक वर्ष २०८०/८१ को चार महिनामा १० वटा जीवन बीमा कम्पनीले वैदेशिक रोजगार म्यादी जीवन बीमालेखमार्फत ८९ करोड ८ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेका छन् । 

वैदेशिक रोजगार बीमालेखमार्फत सबैभन्दा बढी प्रिमियम भित्र्याउने कम्पनीमा सन नेपाल लाइफ इन्स्योरेन्स छ । उक्त कम्पनीले चार महिनामा वैदेशिक रोजगार बीमालेख बिक्रीबाट २१ करोड ५४ लाख रुपैयाँ आर्जन गरेको छ ।

हाल कम्पनीमा ७ लाख ३५ हजार ४८५ बीमालेख संख्या छ । वैदेशिक रोजगार म्यादी जीवन बीमालेखमा पुल सम्बन्धी कार्यविधि लागू हुँदा सन नेपालसहित केही सीमित कम्पनीले मात्रै वैदेशिक रोजगार बीमालेख बिक्री गर्दथे । 
अन्य कम्पनीले कति प्रिमियम संकलन गरे ? 
दोस्रोमा नेपाल लाइफले २० करोड १५ लाख रुपैयाँ बीमाशुल्क आर्जन गरेको छ । यसका साथै आइएमई लाइफले ११ करोड ९ लाख रुपैयाँ, नेशनल लाइफले ७ करोड ८ लाख रुपैयाँ, सूर्यज्योति लाइफले ६ करोड ६८ लाख रुपैयाँ, एसियल लाइफले ६ करोड ५३ लाख, रिलायबल नेपाल लाइफले ५ करोड ८९ लाख, सानिमा रिलायनस लाइफले ५ करोड ७६ लाख, सिटिजन लाइफले ४ करोड २० लाख र प्रभु महालक्ष्मी लाइफले १२ लाख रुपैयाँ आर्जन गरेको छ ।
वैदेशिक रोजगार बीमालेखको संख्या १७ लाख माथि 
१० वटा जीवन बीमा कम्पनीमा हालसम्म वैदेशिक रोजगार बीमालेखको संख्या १७ लाख ८५ हजार ५७३ छ । सरकारले वैदेशिक रोजगारमा जाने नेपालीहरुका लागि वैदशिक रोजगार बीमा अनिवार्य गरेसँगै यस्तो बीमालेखको संख्या बढ्दै गइरहेको छ । 

कात्तिक महिनासम्म सबैभन्दा बढी सन नेपाल लाइफमा ७ लाख ३५ हजार ४८५ छ । त्यस्तै, दोस्रोमा नेपाल लाइफमा ३ लाख ६ हजार छ । 
 

यसका साथै सूर्यज्योति लाइफमा २ लाख ७६ हजार, आइएमई लाइफमा १ लाख ३७ हजार, सिटिजन लाइफमा १ लाख १९ हजार, सानिमा रिलायन्स लाइफमा ७६ हजार, रिलायबल नेपाल लाइफमा ५६ हजार, नेशनल लाइफमा ४९ हजार, एसियन लाइफमा २२ हजार र प्रभु महालक्ष्मी लाइफमा ५ हजार रहेको छ ।