काठमाण्डौ । बैंकर्स संघले व्यक्तिगत रुपमा खोलिने मुद्धती खातामा दिइने ब्याजको सीमा हटाइदिएको छ ।

संघको मंगलबार बसेको बैठकले यसअघि  व्यक्तिगत मुद्धती निक्षेपमा १०.५ प्रतिशतसम्म मात्र ब्याज दिन पाइने भद्र सहमति खारेज गरेको हो । 

बैंकहरुमा व्यक्तिगत निक्षेप बढ्न नसकेपछि र संस्थागत निक्षेप सीमा भन्दा बढी जम्मा हुने अवस्था आएपछि यस्तो निर्णय लिनुपरेको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्रप्रसाद ढुंगानाले प्रष्ट्याए । 

'अब व्यक्तिगत मुद्धतीको १०.५ प्रतिशतको सीमा रहेन । बैंकहरुले आवश्यकताका आधारमा सक्ने जति ब्याज दिएर व्यक्तिगत निक्षेप लिनसक्नेछन् ।' ढुंगानाले बिजशालासँग भने-'यसले बैंकहरुमा व्यक्तिगत निक्षेप बढ्ने आशा गरिएको छ ।'

यसैगरी, संघले १० वर्ष भन्दा बढीको संस्थागत निक्षेपको हकमा समेत सम्बन्धित बैंकले ब्याजदर तोक्न पाउनेछ । तर, १० वर्ष भन्दा कमका संस्थागत निक्षेपमा भने ११ प्रतिशत भन्दा बढी ब्याजदर दिन पाइने छैन ।

यसैगरी, बचत खाताको हकमा मासिक ब्याज भुक्तानी दिने गरी ७ प्रतिशतसम्म ब्याजदर दिन सकिने निर्णय समेत भएको छ ।