काठमाण्डौ । चालु आर्थिक वर्षको ७ महिनामा कुल व्यापार घाटा सवा ८ खर्ब कायम भएको छ। 

नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालु आर्थिक वर्षको माघ मसान्तसम्म आर्थिक तथा वित्तीय अवस्थाको तथ्यांकले यस्तो देखाएको हो। समीक्षा अवधिमा कुल वस्तु व्यापार घाटा १८.७ प्रतिशतले कमी आई रु. ८ खर्ब २५ अर्ब ७३ करोड कायम भएको हो। अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा ३८.४ प्रतिशतले बढेको थियो। 

समीक्षा अवधिमा निर्यात–आयात अनुपात १०.२ प्रतिशत पुगेको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात ११.५ प्रतिशत रहेको थियो।

समीक्षा अवधिमा भारतबाट परिवत्र्य विदेशी मुद्रा भुक्तानी गरी रु.७१ अर्ब ७८ करोड बराबरको वस्तु आयात भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.१ खर्ब २८ अर्ब १७ करोडबराबरको भएको थियो।

यो ७ महिनामा कुल वस्तु निर्यात २९.० प्रतिशतले कमी आई रु.९३ अर्ब ४३ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यात ८८.३ प्रतिशतले वृद्धि भएको थियो।

गन्तव्यका आधारमा भारत र चीनतर्फ भएको निर्यात क्रमशः ३७.७ प्रतिशत र १३.४ प्रतिशतले कमी आएको छ भने अन्य मुलुकतर्फको निर्यात ८.० प्रतिशतले वृद्धि भएको छ। 

वस्तुगत आधारमा जिंक सिट, अलैंची, पार्टिकल बोर्ड, ऊनी गलंैचा, पोलिष्टर धागोलगायतका वस्तुको निर्यात बढेको छ भने सोयाविन तेल, पाम तेल, पिना, लत्ताकपडा, सुन चाँदीका सामान तथा गरगहनालगायतका वस्तुको निर्यात घटेको छ।

यसैगरी यही अवधिमा कुल वस्तु आयात १९.९ प्रतिशतले कमी आई रु.९१९ अर्ब १७ करोड कायम भएको छ। अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात ४२.८ प्रतिशतले बढेको थियो। 

वस्तु आयात गरिने मुलुकका आधारमा भारत, चीन तथा अन्य मुलुकबाट भएको आयात क्रमशः १८.० प्रतिशत, २४.३ प्रतिशत र २२.० प्रतिशतले कमी आएको छ। वस्तुगत आधारमा पेट्रोलियम पदार्थ, स्पोन्ज आइरन, रासायनिक मल, सुन, अन्य स्टेशनरी सामानलगायतका वस्तुको आयात बढेको छ भने सवारी साधन तथा स्पेयर पार्टस्, औषधी, एमएस विलेट, दूरसञ्चारका उपकरण तथा पार्ट्स, चाँदीलगायतका वस्तुको आयात घटेको छ।