काठमाण्डौ । चिनियाँ सामग्रीमा अमेरिकाले आयात कर वृद्धि गरेसँगै अमेरिकी बजारमा पाइने चीनमा उत्पादित सामग्रीको मूल्य आकासिएको छ ।

अमेरिका र चीनबीच चलिरहेको व्यापार युद्ध थामिने थुप्रैपटक भएको वार्तालापबाट विश्वास लिइएपछि पछिल्लोपटक अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत आइतबारबाट लागू हुने गरी चिनियाँ सामग्रीमा १५ प्रतिशत आयात कर वृद्धि गरेपछि चिनियाँ सामग्रीको मूल्य आकासिएको हो ।

विशेष गरी अमेरिकी बजारमा पाइने चीनमा उत्पादित कपडा, जुत्ता, खेल सामग्री र अन्य उपभोग्य सामानमा व्यापक मूल्य वृद्धि भएको छ।

राष्ट्रपति ट्रम्पले ११२ अर्ब डलरको चिनियाँ सामग्रीमा १५ प्रतिशत आयात कर निर्णय लागू गरेका छन् । यसले गर्दा चीनबाट आयात हुने करिब दुई तिहाइ रिटेल सामग्री अमेरिकी बजारमा निकै महँगो हुने भएको छ ।

ट्रम्प सरकारको यो निर्णयबाट अमेरिकी अर्थव्यवस्थामा झट्का लाग्ने सम्भावना छ । किनकि उपभोक्ताकै व्यय क्षमता अमेरिकी अर्थव्यवस्थाको प्रमुख सूचक हो । यसका अलावा कमजोर वैदेशिक व्यापारका कारण निर्यात कमजोर हुँदा कारोबारहरुले लगानी क मगर्न थालेका छन् । 

यसैबीच आफ्नो उत्पादनमाथि अमेरिकी सरकारले गरेको आयात कर वृद्धिविरुद्ध चीनले अमेरिकामाथि विश्व व्यापार संगठन (डब्ल्यूटीओमा) सोमबार उजुरी दर्ता गरेको छ ।

अमेरिकाले गत आइतबारदेखि लागू हुने गरी अमेरिकी भित्रिएको १२५ अर्ब अमेरिकी डलरको चिनियाँ सामग्रीमा १५ प्रतिशतले आयात कर वृद्धि गरेको थियोे । ती सामग्री धेरैजसो उपभोक्ता लक्षित छन् ।

चीनको वाािण्ज्य मन्त्रालयले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ, ‘अमेरिकाले गरेको करवृद्धिप्रति चिनियाँ पक्षले असन्तुष्ट छ । डब्ल्यूटीको नियमानुसार चीन आफ्नो उपयुक्त अधिकारी र हितको सुरक्षा गर्न चाहन्छ ।’

त्यसो त चीनले पनि अमेरिकामा उत्पादित हुने कच्चा तेलमा ५ प्रतिशत अतिरिक्त शुल्क लगाएको छ । विगत एक वर्षदेखि चलिरहेको व्यापार युद्धमा पहिलोपटक चीन सरकारले कच्चापदार्थमा अतिरिक्त शुल्क लगाएको हो ।

त्यस्तै चीनले पनि अन्य अमेरिकी उत्पादनमा कर वृद्धि गरेको छ । यद्यपि चीनले कुन–कुन अमेरिकी सामान कर वृद्धि गरेको हो भनेर भने घोषणा गरिसकेको छैन ।  – एजेन्सी