काठमाण्डौ । शाइन रेसुंगा डेभलपमेन्ट बैंकले आफ्नो १५ औँ वार्षिक साधारणसभा आह्वान गरेको छ। 

बैंक सञ्चालक समितिको कात्तिक २३ गते बसेको बैठकले वार्षिक साधारणसभा आउँदो मंसिर २३ गते आयोजना गर्ने निर्णय गरेको हो। सभा रुपन्देहीको मणिग्रामस्थित ड्रिमल्यान्ड गोल्ड रिसोर्ट एन्ड होटेलमा बिहान ११ बजेबाट सुरु हुनेछ। 

सभाले आर्थिक वर्ष २०७९–८०का लागि लाभांश प्रस्तावित लाभांश अनुमोदन गर्नेछ। बैंकले उक्त आर्थिक वर्षको वितरणयोग्य सञ्चित मुनाफाबाट हाल कायम चुक्तापुँजी ४ अर्ब २८ करोड ३८ लाख ८३ हजार २१३.१६ रुपैयाँको कुल ११.०५ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा १०.५० प्रतिशतले हुन आउने ४४ करोड ९८ लाख ७ हजार ७३७.३८ रुपैयाँबराबरको बोनस सेयर र कर प्रयोजनार्थ ०.५५ प्रतिशतले हुन आउने २ करोड ३६ लाख ७४ हजार ९१.४४ रुपैयाँबराबरको नगद लाभांश छन्। 

बोनस सेयर वितरणपछि पुँजी वृद्धि हुने भएकोले सोहीबमोजिम प्रबन्धपत्र तथा नियमावलीमा संशोधन गर्ने विशेष प्रस्ताव पनि सभाले पारित गर्नेछ। 

शाइन रेसुंगा र अन्य बैंक तथा वित्तीय संस्था आपसमा गाभ्ने र प्राप्ति प्रयोजनका लागि गर्नुपर्ने सम्पूर्ण प्रक्रिया अगाडि बढाउने अख्तियारी सञ्चालक समितिलाई प्रदान गर्ने विशेष प्रस्ताव पनि सभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनार्थ बैंकले मंसिर ११ गतेदेखि मंसिर २३ गतेसम्म बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ मंसिर १० गतेसम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको लाभांश पाउन र सभामा भाग लिन योग्य हुनेछन्।