काठमाण्डौ । निर्जीवन बिमा कम्पनीहरुमा आफूलाई टप ठान्ने शिखर इन्स्योरेन्सले खूद नाफातर्फ राम्रै प्रगति गरे पनि यसको जगेडा कोषमा भने पहिरो गएको छ । 

कम्पनीले भविष्यमा लगानीकर्तालाई दिनसक्ने लाभांश र संभावित जोखिम व्यवस्थापनका लागि जगेडाकोष बलियो बन्दै गएको राम्रो मानिन्छ । तर, यो कम्पनीको जगेडा कोष कमजोर बन्दै मात्र गएको छैन, एक वर्षको अवधिमा १२ करोडले घट्न समेत पुुगेको छ । अघिल्लो आर्थिक वर्षको चौथो त्रैमाससम्म ४२ करोड रहेको यस्तो कोष घटेर समीक्षा अवधिमा ३० करोड ११ लाखमा सीमित बन्न पुुगेको छ । 

शिखर इन्स्योेरेन्सले ३० करोडको हाराहारीमा पूँजी बढ्दा समेत प्रतिसेयर आम्दानीलाई सन्तुलनमा राख्न सकेन । जसका कारण अघिल्लो वर्ष ६० रुपैयाँको हाराहारीमा रहेको यस्तो आम्दानीमा पनि पहिरो गएर ४६ रुपैयाँमा सीमित बन्न पुुगेको छ । कुनै पनि कम्पनीको स्वस्थताको आधार जाँच्ने २ प्रमुख सूचक जगेडाकोष र इपीएसमै यति ठूलो पहिरो गएपछि शिखर इन्स्योरेन्सलाई उत्कृष्ट निर्जीवन बिमा कम्पनी र आकर्षक लगानीको ठाउँ ठान्ने कि नठान्ने ? प्रश्न उठेको छ । 

यो कम्पनीले आर्थिक वर्ष २०७३/७४ को चौथो त्रैमाससम्म ३७ करोड ५८ लाख खूद नाफा आर्जन गरेको छ । अघिल्लो वर्ष यही अवधिमा शिखरको नाफा ३० करोड ६६ लाख थियो । 

शिखरले यो अवधिमा १ अर्ब ५७ करोड बिमा शुल्कतर्फ आम्दानी गरेको छ । अघिल्लो वर्ष यस्तो आम्दानी १ अर्ब ३ करोडमा सीमित थियो । 

अघिल्लो वर्ष पुनर्बिमा कमिसनबाट १९ करोड आम्दानी गरेको शिखरले समीक्षा अवधिमा सो आम्दानीमा वृद्धि गरी २५ करोड ६३ लाखको उचाई चुमेको छ । 

समीक्षा अवधिमा शिखरले ५९ करोड ७५ लाख बराबरको दाबी भुक्तानी गरेको छ । गत वर्षसम्म १ करोड ८५ लाखको सीमा रहेको अभिकर्ता कमिसनबापतको खर्च बढेर २ करोड ६७ लाख पुुगेको छ । यस्तै, १७ करोड ८० लाख रुपैयाँमा सीमित व्यवस्थापन खर्चमा समेत अचाक्ली वृद्धि भई २४ करोड ७९ लाख पुुगेको छ । यो अवधिमा शिखरको बिमालेख संख्या २ लाख ६४ हजार ७ सय २५ रहेको छ । 

हाल शिखरको चुक्तापूँजी ८१ करोड रुपैयाँ रहेको छ । यो अवधिमा बिमा कोषमा ६४ करोड ६२ लाख जम्मा भएको छ । अघिल्लो वर्षको यही अवधिमा बिमा कोषमा ४५ करोड ८३ लाख थियो । यस्तै, यो कम्पनीले महाविपत्ति कोषमा ३ करोड ४६ लाख राखेको छ । अघिल्लो वर्ष पनि यो कोषमा यत्ति नै रकम थियो ।