काठमाण्डौ । विश्वका शीर्ष १० अर्बपतिको सम्पत्तिमा भारी वृद्धि भएको छ। 

एलन मस्कदेखि जेफ बेजोस र बर्नार्ड अर्नाल्टदेखि मार्क जुकरबर्गसम्म सबैको नेटवर्थमा वृद्धि भएको छ। सबैभन्दा बढी लाभान्वितकर्ता फेसबुकको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्ग हुन्। जसको सम्पत्ति ३.७३ अर्ब डलरभन्दा बढी बढेको छ।

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार शीर्ष १० धनीमा परेका सबैधनी व्यक्तिको सम्पत्तिमा वृद्धि भएको छ। एलन मस्कको सम्पत्ति ३ अर्ब ९३ करोड डलरले बढेर २३९ अर्ब डलर पुगेको छ। योसँगै धनीको सूचीमा दोस्रो स्थानमा रहेका फ्रान्सेली अर्बपति बर्नार्ड अर्नाल्टको कुल सम्पत्ति २ अर्ब ३१ करोड डलरले बढेर १६९ अर्ब डलर पुगेको छ। 

अमेजनका सहसंस्थापक तथा विश्वका तेस्रो धनीव्यक्ति जेफ बेजोसको कुल सम्पत्ति पनि २.०१ अर्ब डलरले बढेर १५१ अर्ब डलर पुगेको छ।

यसैगरी ल्यारी एलिसनको सम्पत्ति १ अर्ब ४१ अर्ब डलरले बढेर अब १२५ अर्ब डलर भएको छ। उनी विश्वको चौथो धनी हुन्। 

पाँचौँ नम्बरमा १२३ अर्ब डलरसहित बिल गेट्स छन्। उनको सम्पत्ति ७५ करोड ५० लाख डलरले बढेको छ। 

ल्यारी पेज १२३ अर्ब डलरका साथ छैटौँ धनी पनि छन्। उनको सम्पत्ति २.१० अर्ब डलरले बढेको छ। सातौँ धनी व्यक्ति सर्गेई ब्रिनले १.९६ अर्ब डलर कमाए र उनको कुल सम्पत्ति ११६ अर्ब डलर पुगेको छ। वारेन बफेट पनि ११६ अर्ब डलरका साथ आठौँ धनी हुन्। उनको सम्पत्ति ४ अर्ब १० करोड डलरले बढेको छ।

सन् २०२२ सम्म ठूलो घाटाको सामना गरिरहेका फेसबुकको मूल कम्पनी मेटाका सीईओ मार्क जुकरबर्गका लागि सन् २०२३ लाभदायक सम्झौता साबित भएको छ। पछिल्ला तीन महिनादेखि उनी शीर्ष १० धनीको सूचीमा दबदबामा छन् र उनको सम्पत्ति लगातार बढिरहेको छ। 

ब्लुमबर्ग बिलियनेर्स इन्डेक्सका अनुसार ११४ अर्ब डलरको नेटवर्थसहित मार्क जुकरबर्ग अहिले विश्वका धनीव्यक्तिको सूचीमा ९औँ स्थानमा पुगेका छन्। उनको सम्पत्तिमा ३ अर्ब ७३ करोड डलरको वृद्धि भएको छ। सन् २०२३ मा अहिलेसम्म उनको सम्पत्ति ६८.७ अर्ब डलरले बढेको छ। 

अर्बपति स्टिभ बाल्मरसँग पनि ११४ अर्ब डलरको सम्पत्ति छ र उनी सूचीमा १० नम्बरमा छन्। –एजेन्सी