काठमाण्डौ । श्रीलंकाको सर्वोच्च अदालतले मुलुकमा आर्थिक संकट सृजना हुनुमा राजापाक्ष दाजुभाई दोषी रहेको फैसला गरेको छ । 

श्रीलंकाको सर्वोच्च अदालतले पूर्वराष्ट्रपति गोताबाया राजापाक्ष र उनका भाइ एवं पूर्व प्रधानमन्त्री महिन्दा, भूतपूर्व अर्थमन्त्री बेसिल राजपक्ष र केन्द्रीय ब्याङ्कका दुईजना भूतपूर्व गभर्नरहरू सहित १३  जना देशको सबैभन्दा खराब आर्थिक संकटका लागि जिम्मेवार रहेको फैसला गरेको छ।

अदालतको फैसलामा कुनै दण्ड जरिवानाको व्यवस्था उल्लेख छैन तर उनीहरु विरुद्ध उजुरी दर्ता गराएका पक्षको कानूनी शुल्क तिर्न आदेश गरिएको छ।भ्रष्टाचारको निगरानी गर्ने ट्रान्सपरेन्सी इन्टरनेशनल श्रीलंका र अन्य वकिलहरुले उनीहरु विरुद्ध मुद्दा दायर गरेका थिए।

अर्थव्यवस्थाको दुरुपयोगमा उनीहरुको संलग्नता पुष्टि भएको छ । श्रीलंकाले गत वर्ष आर्थिक रुपमा टाट पल्टिएको घोषणा गरेको थियो ।श्रीलंका सन् १९४८ मा स्वतन्त्र भएयताकै खराब आर्थिक संकटबाट गुज्रिरहेको छ ।

श्रीलंकालाई अहिलेको आर्थिक संकटबाट निकाल्ने जिम्मा ७३ वर्षीय राष्ट्रपति रनिल विक्रमसिंघेको काँधमा छ।आर्थिक संकट चुलिएसँगै आन्दोलन उत्कर्षमा पुगेपछि पूर्वराष्ट्रपति गोताबाया राजापाक्ष देश छाडेर भागेपनि केहि महीना पछि स्वदेश फर्किएका थिए ।

नोभेम्बर २०२३ सम्ममा श्रीलंकाको कुल विदेशी ऋण ४६.९ बिलियन अमेरिकी डलर छ ।

श्रीलंकाको सबैभन्दा ठूलो ऋणदाता चीन हो। श्रीलंकाले कुल ऋणमध्ये चीनसँग मात्रै ५२ प्रतिशत ऋण लिएको छ ।- एजेन्सी