काठमाण्डौ । विश्व महामारीबाट अस्तव्यस्त बनेको युुरोपेली संघको अर्थव्यवस्था उकास्न दुई युरोपेली मुलुकले विशेष फन्डको प्रस्ताव अगाडि सारेका छन्।

युरोपेली संघको अर्थव्यवस्था उकास्न जर्मनी र फ्रान्सुले ५०० अर्ब युरोको एउटा विशेष फन्ड खडा गर्नुपर्ने प्रस्ताव अगाडि सारेका हुन्। फ्रान्सेली राष्ट्रपति इम्यानुुएल म्याक्रोन र जर्मन चान्सलर एन्जेला मार्केलबीच सोमबार भएको भिडियो कन्फ्रेन्सिङमा यस्तो प्याकेजको घोषणा गर्नुपर्ने प्रस्ताव गरेका हुन्।

द्वितीय विश्वयुद्धपछिकै सबैभन्दा ठूलो आर्थिक संकटको सामना अहिले युरोपेली मुलुकहरुले गरिरहेको बताइएको छ। यो संकट अझै गहिरिने सक्ने भन्दै फ्रान्स र जर्मनीले यस्तो प्रस्ताव अगाडि सारेका हुन्। 

फ्रान्सका राष्ट्रपति म्याक्रोनले आर्थिक संकटसँगै यो महामारीसँग लड्नका लागि स्वास्थ्यसम्बन्धी मामिलामा पनि युरोपेली मुलुकहरुबीच अधिक समन्वय हुनुपर्ने आवश्यकता औँल्याएका छन्। – एजेन्सी