काठमाण्डौ । एसियन लाइफ इन्स्योरेन्स कम्पनीले ९ प्रतिशत संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्ने भएको छ। 

कम्पनी आज एक सूचना प्रकाशित गर्दै संस्थापक र सर्वसाधारणको सेयर स्वामित्व परिमार्जन गर्न संस्थापक सेयर सर्वसाधारणमा परिवर्तन गर्न लागिएको जानकारी गराएको हो। 

हाल कम्पनीमा संस्थापक समूहको ६० प्रतिशत र सर्वसाधारण समूहको ४० प्रतिशत सेयर स्वामित्व रहेको छ। यसलाई परिमार्जन गर्दै अब कम्पनीमा संस्थापक समूहको ५१ प्रतिशत र सर्वसाधारणको ४९ प्रतिशत सेयर स्वामित्व कायम गर्न लागिएको हो। 

सेयर स्वामित्व परिमार्जनसम्बन्धी विशेष प्रस्ताव कम्पनीको १४औँ वार्षिक साधारणसभा पारित भइसकेको छ भने नेपाल बीमा प्राधिकरणले पनि स्वीकृति दिएको छ। 

अब संस्थापक सेयर सर्वसाधारण सेयरमा परिवर्तन गर्न इच्छा नभएमा सेयरधनीहरुलाई कम्पनीले लिखित जानकारी गराउन आग्रह गरेको छ। यसका लागि ७ दिनको अवधि दिइएको छ।  

तोकिएको अवधिभित्र सेयर परिवर्तन गर्ने वा नगर्ने सम्बन्धमा जानकारी प्राप्त नभएमा प्रचलित कानुनबमोजिम तोकिएको अनुपातमा सर्वसाधारण समूहमा परिवर्तन गरिने जानकारी पनि कम्पनीले गराएको छ।