काठमाण्डौ । सगरमाथा इन्स्योरेन्स कम्पनी लिमीटेडको १९ औं वार्षिक साधारणसभाले जारी पूँजी र अधिकृत पूँजी ठूलो मात्रामा वृद्धिको निर्णय गरेको छ । 

सभाले कम्पनीको अहिलेको अधिकृत पूँजी ५० करोडबाट १ अर्ब ५० करोड, जारी पूँजी ४० करोडबाट १ अर्ब रुपैंया कायम गर्ने निर्णय गरेको हो । 

जस अनुसार अब संचालक समितिलाई पूँजी वृद्धिका लागि प्रिमियममा सेयर निश्कासन गर्ने बाटो खुलेको छ । यसको अर्थ यो कम्पनीले निकट भविष्यमै साधारणसभाले तोकेको पूँजी पुर्याउनका लागि फर्दर पब्लिक अफरिंग(एफपीओ) जारी गर्ने छ । 

एक संचालकका अनुसार हाल कम्पनीमा संस्थापक र सर्वसाधारणको सेयर अनुपात ६०ः४० रहेको छ । यो अनुपातलाई ५१:४९ मा ल्याउनका लागि संस्थापकतर्फको करिब ९ प्रतिशत सेयरलाई साधारणमा परिणत गर्नका लागि एफपीओ निश्कासन हुने ती संचालकले जानकारी दिए । उनका अनुसार निकट भविष्यमा यो कम्पनीले १५ लाख भन्दा बढी कित्ता सेयर सर्वसाधारणका लागि एफपीओ गर्ने छ।

यसैबीच,साधारणसभाले २३.७५ बोनस तथा कर प्रयोजनका लागि १.२५ नगद लाभांश वितरणको प्रस्ताव समेत पारित गरेको छ । 

यो इन्स्योरेन्स कम्पनीले चालु आर्थिक वर्षको ९ महिनाको अवधिमा १५ करोड ३९ लाख ३० हजार रुपैयाँ खूद नाफा आर्जन गरेको छ । यो कम्पनीको चुक्तापूँजी हाल ३५ करोड ६५ लाख ४४ हजार रुपैयाँ रहेको छ । कम्पनीको प्रति सेयर आम्दानी र नेटवर्थ क्रमशः २९.८८ रु. र २३५.१२  रु. रहेको छ । असार २८ गतेको कम्पनीको सेयर मूल्य २६४१ रुपैयाँ रहेको छ ।