काठमाण्डौ । नेपाल राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा प्रयोग गर्दा सजग हुन सचेत गराएको छ। 

केन्द्रीय बैंकले आज वित्तीय चेतनाका लागि सचेतनामूलक सूचना जारी गर्दै यस्तो सचेत गराएको हो। राष्ट्र बैंकले डिजिटल वित्तीय सेवा पारदर्शी र विश्वासिलो हुने पनि जनाएको छ। 

मोबाइल बैंकिङ, इन्टरनेट बैंकिङ र वालेटजस्ता डिजिटल वित्तीय सेवा प्रयोग गर्दा नोटको आवश्यकता नहुने राष्ट्र बैंकले जनाएको छ। ‘यस्ता सेवाले आफैँ उपस्थित भई लाइन बस्ने झन्झट नहुने र खातामा सीधै भुक्तानी हुने हुँदा कारोबार पारदर्शी र विश्वासिलो हुनुका साथै समयको बचतसमेत हुने गर्दछ’, सूचनामा उल्लेख छ। 

डिजिटल वित्तीय सेवाको प्रयोग गर्दा के प्रयोजनका लागि कसलाई भुक्तानी गरेको हो सोमा सावधानी पुर्याउनुपर्ने दायित्व सम्बन्धित व्यक्तिको नै हुने राष्ट्र बैंकले प्रस्ट पारेको छ। ‘त्यसैले बैंकको नाम, खाताको नाम, खाता नम्बर, मोबाइल नम्बर, भुक्तानीको प्रयोजनलगायतका विवरण यकिन गरेरमात्र कारोबार गर्नुपर्दछ’, सूचनामा भनिएको छ।