काठमाण्डौ । नेपाल राष्ट्रबैंकले कारबाहीको चेतावनी दिएसँगै ब्याजदरको भद्र सहमति तोड्न तम्सिएका दुई वाणिज्य बैंक आफ्नो निर्णयबाट फिर्ता भएका छन् । 

सनराइज बैंक र एनसीसी बैंकले ब्याजदरको भद्र सहमति तोड्दै नेपाल टेलिकमको निक्षेपलाई दिएको बढी ब्याज फिर्ता गरेका हुन् । 

बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुंगानाका अनुसार दुवै बैंकले भद्र सहमति विपरीत ९.६५ प्रतिशत ब्याजमा टेलिकमको निक्षेप लिएकोमा त्यो निर्णयबाट पछि हटेका हुन् । 

एनसीसी र सनराइज बैंकले ब्याजदरको भद्र सहमति तोडेसँगै यसले बैंकिङ उद्योगमै खैलाबैला मच्चिएको थियो । 

सनराइज बैंकका सीइओ रत्नराज बज्राचार्य बैंकर्स संघका उपाध्यक्ष समेत हुन् । संघका उपाध्यक्षले नै संघबाट कायम भद्र सहमति तोडेर बढी ब्याज अफर गरेपछि यो विषय लिएर अध्यक्ष ढुंगाना राष्ट्रबैंक पुगेका थिए । 

राष्ट्रबैंकले समेत आफ्नै समन्वय र निगरानीमा कायम गरेको ब्याजदरको भद्र सहमति तोड्न कस्सिएका दुई बैंकप्रति कडा रुपमा प्रस्तुत भएको थियो ।

केन्द्रीय बैंकका अधिकारीहरुले मंगलबार नै ती दुवै बैंकका उच्च व्यवस्थापनलाई बोलाएर भद्र सहमति कायम गर्न निर्देशन दिएको थियो । केन्द्रीय बैंकबाट निर्देशन आएपछि दुवै बैंकले टेलिकमलाई दिएको बढी ब्याज फिर्ता गरेका ढुंगानाको दाबी छ । 

निकै लामो प्रयासपछि कायम भएको ब्याजदरको भद्र सहमति तोडिने गरी यी दुई बैंकले अप्रीय कदम किन चाले ? भन्ने बिषय अहिले चर्चाको बिषय बनेको छ । योसँगै न्यून ब्राण्ड भ्यालू भएकादेखि उच्च ब्राण्ड भ्यालू भएका वाणिज्य बैंकहरुलाई एउटै बास्केटमा राखेर समान ब्याजदर कायम हुँदा त्यसले कम ब्राण्ड भ्यालू भएका कमजोर वाणिज्य बैंकको अवस्था अझ कमजोर बन्ने विषय समेत बहसमा आएको छ । कतिपय बैंकरहरुले कमजोर वाणिज्य बैंकहरुलाई निक्षेप जोगाउनैका लागि ब्याजदरमा केही रिल्याक्ससेसनको व्यवस्था हुनुपर्ने माग समेत गर्न थालेका छन् । 

‘एउटै ब्याज हुँदा मान्छे वा संस्थाले पैसा किन सिभिल बैंकमा राख्ने ?’ एक बैंकरले आक्रोशित मुद्रामा भने–‘उसले नवील र इन्भेष्टमेन्ट बैंकमा गएर राख्छ नि । त्यसकारण भद्र सहमतिको नाममा सबैलाई गोलमटोल ढंगले एउटै ब्याजदर तोकिनु कमजोर बैंकको हितमा छैन ।’