काठमाण्डौ । सनराइज बैंक लिमिटेड र शिखर इन्स्योरेन्स कम्पनी लिमीटेडबीच बैंकका बचत खाताका ग्राहकहरुलाई स्वास्थ्य उपचार बीमा सुविधा प्रदान गर्न सम्झौता भएको छ । 

सम्झौतापत्रमा सनराइज बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत रत्नराज बज्राचार्य तथा शिखर इन्स्योरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत दिपप्रकाश पाण्डेले हस्ताक्षर गरेका छन्।

यो सम्झौताअन्तर्गत बैंकका बचतकर्ताहरुले अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउँदा लाग्ने खर्च, बढीमा रु. १ लाख वा बचत खातामा रहने बार्षिक औसत मौज्दातको २५ प्रतिशतभन्दा नबढ्ने गरी दाबी गर्न पाइनेछ । 

सनराइज बैंक लिमिटेडले आफ्नो स्थापनाकालदेखि नै आफ्ना बचत खाताका ग्राहकहरुका लागि “सामूहिक दुर्घटना बीमा व्यवस्था” प्रदान गर्दै आएको छ । यस सुविधाअन्र्तगत दुर्घटनामा परी कुनै बचतकर्ताको मृत्यु वा स्थायी तवरले व्यक्ति अशक्त भएमा रु. ५ लाख नबढ्ने गरी बचतखातामा रहेको मौज्दातको ४ गुणासम्म दाबी गर्न सकिनेछ । 

अब यस सम्झौता पश्चात सन्राइज बैंकका बचत खाताका ग्राहकहरुले खाता खोलेको पहिलो दिनबाटै स्वास्थ्य उपचार बीमा सुविधाको उपयोग गर्न पाउनेछन् । यो सम्झौतासँगै सनराइज बैंकका बचत खाताका ग्राहकहरुले दुर्घटना साथै स्वास्थ्य दुबै बीमा सुविधाहरु पाउने भएका छन् ।