काठमाण्डौ । चालु आर्थिक वर्षको प्रथम त्रैमासमा सनराइज बैंक लिमिटेडले ३८ करोड २९ लाख रुपैयाँ नाफा आर्जन गरेको छ।

बैंकको शुक्रबार सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिको खुद नाफा गत वर्षको यही अवधिको तुलनामा १५.७१ प्रतिशतले कम हो। गत वर्ष यही अवधिमा खुद नाफा ४५ करोड ४३ लाख रुपैयाँ रहेको थियो।

बैंकको वितरणयोग्य मुनाफा २४ करोड ९६ लाख रुपैयाँले ऋणात्मक भएको छ। 

प्रथम त्रैमासमा बैंकले सञ्चालन मुनाफाबापत ५४ करोड ७१ लाख रुपैयाँ आर्जन गरेको छ। गत वर्ष यही अवधिमा यस्तो मुनाफा ६४ करोड ५७ लाख रुपैयाँ रहेको थियो।

समीक्षा अवधिमा बैंकको खुद ब्याज आम्दानी ९२ करोड ७९ लाख रुपैयाँ रहेको छ। गत वर्ष यस्तो आम्दानी १ अर्ब १० करोड रुपैयाँ रहेको थियो।

यो अवधिमा बैंकले ९१ अर्ब ५५ करोड रुपैयाँ निक्षेप संकलन गरी ८४ अर्ब ९६ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ। गत वर्ष यही अवधिमा बैंकले ९० अर्ब २२ करोड रुपैयाँ निक्षेप संकलन गरी ८१ अर्ब ३ करोड रुपैयाँ कर्जा प्रवाह गरेको थियो।

बैंकको रिजर्भको आकार १०.२५ प्रतिशतले बढेर ४ अर्ब ६ करोड रुपैयाँको भएको छ। गत वर्ष यही अवधिमा बैंकको रिजर्भको आकार ३ अर्ब ६८ करोड रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा बैंकको खराब कर्जाको दर (एनपीएल) १.२७ प्रतिशतबाट बढेर १.५८ प्रतिशत भएको छ। बैंकको वार्षिकीकरण प्रतिसेयर आम्दानी (ईपीएस) २०.२७ रुपैयाँबाट घटेर १७.०८ रुपैयाँमा झरेको छ। पीई रेसियो १४.११ गुणा रहेको बैंकको प्रतिसेयर नेटवर्थ १५३.९२ रुपैयाँ रहेको छ।