काठमाण्डौ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले मंगलबार गत आर्थिक वर्षको प्रस्तावित बोनस सेयरका लागि सनराइज बैंक लिमिटेडको सेयरमूल्य समायोजन गरेको छ।

नेप्सेले ५.८० प्रतिशत बोनस सेयरका लागि सनराइज बैंकको मूल्य समायोजन गरी प्रतिकित्ता २३९ रुपैयाँ गरेको हो। यसअघि यो बैंकको अन्तिम कारोबार मूल्य प्रतिकित्ता २५३ रुपैयाँ रहेको थियो। अब समायोजित मूल्यअनुसार नै यो बैंकको सेयर कारोबारमा आउनेछ।

गत आर्थिक वर्षका लागि ५.८० प्रतिशत बोनस सेयरसहित बैंकले कुल ८.२८ प्रतिशत लाभांश प्रस्ताव गरेको छ। जसमा बााकी २.४८ प्रतिशत नगद लाभांश रहेको छ। 

प्रस्तावित लाभांश बैंकको यही पुस २४ गते आयोजना हुने १३ औँ वार्षिक साधारणसभाले अनुमोदन गर्नेछ। 

लाभांश र वार्षिक साधारणसभा प्रयोजनका लागि बैंकले आज (पुस ७ गते) एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेको छ। यसको अर्थ हिजो (पुस ६ गते) सम्म कायम सेयरधनीहरुमात्रै यो बैंकको प्रस्तावित लाभांश प्राप्त गर्न र सभामा भाग लिन योग्य हुनेछन्।