काठमाण्डौ । कोरोनाभाइरसका कारण सन् २०२० मा भारतको जीडीपीको वृद्धि दर ० प्रतिशतमा सीमित हुने प्रक्षेपण गरिएको छ । 

बेलायतको प्रमुुख बैंक बार्कलेजले सन् २०२० को क्यालेन्डरमा भारतको जिडिपिको वृद्धिदर शून्य प्रतिशत रहने प्रक्षेपण गरेको हो । 

यसभन्दाअघि बार्कलेजले सन् २०२० मा भारतको जिडीपीको वृद्धिदर २.५ प्रतिशत रहने प्रक्षेपण गरेको थियो । 

यतिबेला भारतले लकडाउनलाई मे ३ सम्मका लागि जारी राखेको छ । बार्कलेजले मंगलबार एक रिपोर्ट जारी गर्दै भारतमा अहिलेसम्म कोरोनाभाइरसको संक्रमण आधिकारिक रुपमा कम्युुनिटी ट्रान्समिसन स्टेजमा नपुुगेको जनाएको छ । 

संक्रमण रोक्न र नियन्त्रण गर्न गरिएको प्रतिबन्ध र लकडाउनले भारतको आर्थिक व्यवस्थामा सोचेभन्दा पनि धेरै असर पुुर्याउने रिपोर्टमा उल्लेख गरिएको छ । 

रिपोर्टका अनुुसार उत्पादन, खानी,कृषि,र युुटिलीटी क्षेत्रमा सोचेभन्दा धेरै नकारात्मक असर पर्ने जनाइएको छ । बार्कलेजका अनुुसार यो आर्थिक नोक्सानी २३४.४ बिलीयन डलरको हुुनेछ अर्थात जिडिपिको ८.१ प्रतिशतको बराबर हुुने छ । यो अनुुमान बार्कलेजले पहिले बताएको १२० बिलियन डलरभन्दा बढी हो । बार्कलेजले महाराष्ट्र, दिल्ली, तमिलनाडुु र पञ्जाब सबैभन्दा धेरै प्रभावित हुुने आफ्नो रिपोर्टमा जनाएको छ ।