काठमाण्डौ । सन् २०२३ चिनियाँ सेयर बजारका लागि बिर्षनलायक रह्यो ।

विश्व सेयर बजारका लागि कोरोना महामारी  पछिकै सुखद साबित भएको यस वर्ष चिनियाँ सेयर बजारका लागि भने खराब सिद्ध भयो । 


वर्ष २०२३ मा संयुक्त राज्य अमेरिका,युरोप,जापान र भारत लगायतका देशको पूँजीबजारमा वृद्धि देखियो । तर यो अवधिमा चिनीया बजारले भने गिरावटको सामना गर्नुपर्यो । चीनको बजारप्रति लगानीकर्ताको आत्मबलमा कमी देखियो । 

रियल स्टेट क्षेत्रमा देखिएको संकट,उपभोक्ताको कमजोर खर्च गर्ने क्षमता र युवाहरु माझ देखिएको बढ्दो बेरोजगारी जस्ता समस्याका जालोमा फसेको चिनियाँ पूँजीबजार यो वर्ष पछाडीतर्फ धकेलियो । 

चीनको ब्लुचीप सीएसआई३०० इन्डेक्स यस वर्ष ११ प्रतिशतले घट्यो । त्यस्तै हंकंगको हाङ सेङ १४ प्रतिशतको गिरावट देखियो । यस्तोमा ‘ससीआई वल्र्ड इन्डेक्स’ २२ प्रतिशत वृद्धिको बाटोमा छ । जुन सन् २०१९ पछिकै सबैभन्दा धेरै वार्षिक वृद्धि हो । 

अमेरिकाको एस एण्ड पी इन्डेक्स र युरोपको स्टोक्स६०० क्रमशः२५ प्रतिशत र १३ प्रतिशत वृद्धिका साथ यस वर्षलाई बिदा गर्ने तयारीमा छन् । वर्षको सुरुवात भएसँगै जापानको निक्की२२५ मा ३० प्रतिशतको उछाल आएको छ । 

३० वटा ठूला कम्पनीको कारोबार हुने भारतको सेन्सेक्स इन्डेक्स १९ प्रतिशतले उकालो लागेको छ । 

आर्थिक मन्दीमा आएको गिरावटका कारण विश्वका केन्द्रिय बैंकहरुले ब्याजदरमा कटौती गर्न सक्ने र कृत्रिम बौदिकता(एआई)को सहयोगले कम्पनीहरुले ठूलो मुनाफा कमाउन सक्ने उत्साहित लगानीकर्ताको आशाका कारण विश्वका सेयर बजारमा वृद्धि देखिएको हो । 
भारतको अर्थतन्त्रमा आएको सुधारको फाइदा त्यहाँको सेयर बजारले लियो । त्यस्तै तुलनात्मक रुपमा सस्तो मूल्यांकन र कमजोर मुद्राका कारण जापानको बजार लाभान्वित बन्यो । 

सन् २०२२ मा कोरोनाभाइरस नियन्त्रण गर्न लगाउने कडा लकडाउनको नीतिबाट पछि हटेपनि लगानीकर्ताले अपेक्षा गरे बमोजिम चीनको अर्थतन्त्रमा बलियो सुधार देखिएको छैन । 

यस्तोमा चीनसामु चुनौतिका सूचीहरु लामा बन्दै गएका छन् । मागमा आएको कमीका कारण उत्पन्न मूल्यवृद्धि र नियामक निकायले गरेको कडाईका कारण विदेशी कम्पनीहरु चीनबाट बाहिरिने क्रम बढेको छ । 

चीनको दिर्घकालिन परिदृश्य पनि राम्रो देखिएको छैन । गत नोभेम्बरमा अन्तराष्ट्रिय मुद्रा कोष(आईएमएफ)ले चीनको आर्थिक वृद्धिदर सन् २०२३ मा ५.४ प्रतिशत पुग्ने जनाएको थियो । कमजोर उत्पादकत्व र बढ्दो वृद्ध जनसंख्याका कारण यो वृद्धिदर सन् २०२८ सम्म पुग्दा ३.५ प्रतिशतमा सीमित हुने आइएमएफले प्रक्षेपण गरेको थियो ।

तेलको मूल्यमा गिरावट

संघर्षरत चिनीया अर्थतन्त्रले तेलको मूल्यलाई घटाउन सहयोग गरिरहेको छ । 

विश्व तेल बेन्चमार्क,ब्रेन्टमा यस वर्ष लगभग ९ प्रतिशतको गिरावट आएको छ । ब्रेन्ट आयल प्रति ब्यारेल ७८ डलरमा कारोबार भईरहेको छ । त्यस्तै अमेरिकाको वेष्ट टेक्सस इन्टरमिडीएट क्रुडमा पनि झण्डै १० प्रतिशतको गिरावट देखिएको छ । यसको मूल्य प्रतिब्यारेल ७२ पुगेको छ । 

चीन विश्वको सबैभन्दा ठूलो तेल आयातकर्ता देश हो । चीनले उपभोग गर्ने कुल तेलको ७१ प्रतिशत विदेशबाट आयात गर्छ । माग कमजोर बनेको संकेतले लगानीकर्तालाई मूल्य घटाउन प्ररित गरेको छ । अमेरिकामा तेल उत्पादनमा भएको रेकर्डतोड वृद्धिले पनि तेलको मूल्यमा घट्नमा ठूलो भुमिका खेलेको छ । 

अमेरिकाको उर्जा सूचना प्रशासनले यस वर्ष तेलको उत्पादन अहिलेसम्मकै उच्च प्रतिदिन १२.९ मिलियन ब्यारेल पुग्ने अनुमान गरेको थियो । उसले सन् २०२४ मा यो वृद्धि भएर रेकर्ततोड प्रतिदिन १३.१ मिलियन ब्यारेल पुग्ने अनुमान गरेको छ । अधिक उत्पादनलाई कारण देखाउँदै अघिल्लो महिना गोल्डम्यमान स्याक्सले आफ्नो प्रक्षेपणमा सन् २०२४ का लागि तेलको औसत मूल्यमा १२ प्रतिशतको कटौति गरेको थियो । 

तेल निर्यातक देशहरुको संगठन ओपेक र यसका साझेदारहरुले सन् २०२४ को पहिलो त्रैमाससम्ममा तेलको उत्पादन प्रतिदिन २.२ मिलियन ब्यारेलले कटौति गर्ने घोषणाका बाबजुत तेलको मूल्यमा गिरावट आईरहेको छ ।   -एजेन्सी