काठमाण्डौ । करिब १६ करोड रुपैयाँ रकम हिनामिना प्रकरणमा मुछिएका सप्तकोशी डेभलपमेन्ट बैंकका कार्यकारी प्रमुख (सीईओ) नविन सुवेदीसहित उच्चपदस्थ कर्मचारी पक्राउ परेका छन् । 

बैंकको १५ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले बुधबार सीइओ सुवेदीसहित बैंकका उच्च पदमा बस्ने तीनजनालाई कार्यालयबाटै पक्राउ गरेको हो।

बैंकका लेखा वित्त प्रमुख देवीप्रसाद भण्डारी र अपरेसन प्रमुख अमित थापा मगर पनि पक्राउ परेका जिल्ला प्रहरी कार्यालय मोरंगले जनाएको छ । 

प्रहरीले बुधबार बेलुका सीइओ सुवेदीलाई विराटनगरबाट पक्राउ गरेको थियो । उनका प्रारम्भिक सूचनाका आधारमा भण्डारी र थापा पनि पक्राउ परेका हुन् । 

बैंकको रेमिट्यान्स शाखाको पार्किङ एकाउन्टबाट पछिल्लो ६ वर्षमा १५ करोड ७५ लाख रुपैयाँभन्दा बढी रकम हिनामिना हालै मात्र सार्वजनिक भएको थियो । यो प्रकरण बैंकको उच्च व्यवस्थापनले गुपचुप राख्न खोजे पनि कर्मचारीहरुले केन्द्रीय बैंक लगायतका निकायमा उजुरी गरेपछि यो प्रकरण बाहिरिएको थियो । 

यही प्रकरणमा संलग्न भएको आरोपमा प्रहरीले यसअघि बैंकका जिएसडी प्रमुख हिमाल भट्टराईलाई पक्राउ गरेको थियो । 

भट्टराईको बयानका आधारमा यो प्रकरणमा सीइओ सुवेदी लगायतको पनि संलग्नता देखिएपछि उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रहरी उपरीक्षक जनार्दन जिसीले जानकारी दिए ।