काठमाण्डौ । सनराइज बैंक लिमिटेडले बैकिङ्ग सेवा नपुगेका देशका विभिन्न स्थानहरुमा सेवा पुर्याउँदै जाने उद्देश्यका साथ आफ्नो १७ औँ शाखारहित बैंकिङ्ग सेवा सप्तरी जिल्लाको छिन्नमस्ता गाउँपालिका वडा नं. ३, छिन्नमस्ता भगवतीमा शुरू गरेको छ । 

यो शाखारहित बैंकिङ्ग सेवाको उद्घाटन प्रदेश नं. २(ख)का प्रदेशसभा सदस्य शैलेन्द्रप्रसाद शाहले एक समारोहका बीच गरे । सो अवसरमा शाखारहित बैंकिङ्ग सेवाको एजेन्ट÷प्रतिनिधि विद्यानन्द चौधरीलाई पोइन्ट अफ सेल मेसिन, शैलेन्द्रप्रसाद शाह र बैंकको राजविराज शाखाका प्रवन्धक रोहितकुमार महाशेठले संयुक्त रुपमा हस्तान्तरण गरे ।

साथै, बैंकको राजविराज शाखाका प्रबन्धक रोहितकुमार महाशेठले शाखारहित बैंकिङ्ग सेवा प्रदान गर्नुको उद्घेश्य प्रष्ट पारेका थिए । सो पोइन्ट अफ सेल मेसिनको माध्यमबाट बचत तथा भुक्तानीका लागि शाखा कार्यालय नभएको ठाउँबाट समेत शाखारहित बैंकिङ्ग सेवाअन्तर्गत एटिएम कार्ड मार्फत कारोबार गर्न सकिने बैंकले जनाएको छ ।  

यो संगसंगै बैंकको कुल शाखारहित बैंकिङ्ग सेवा संख्या १७ पुगेको छ र बैंकिङ्ग सेवा नपुगेका ग्रामीण क्षेत्रका जनतालाई बैंकिङ्ग सेवा शाखारहित बैंकिङ्ग सेवामार्फत उपलब्ध गराउँदै जाने लक्ष्य बैंकले लिएको समेत जनाएको छ । साथै, बैंकको उक्त शाखाबाट सामाजिक उत्तरदायित्व अन्तर्गत छिन्नमस्ता भगवती मन्दिरमा २० के.जी. पित्तलको घण्टी समेत प्रदान गरियो ।