काठमाण्डौ । कुनै पनि नयाँ व्यापार–व्यवसाय सुरु गर्नुभन्दा अघि सही योजना र वित्तीय जानकारी हुन आवश्यक हुने गर्दछ। तर जब महिलाहरुले नयाँ व्यवसाय गर्ने कुरा आउँछ तब व्यवसायका साथ–साथै घरपरिवार पनि सम्हाल्ने विषय सँगसँगै जोडिएर आउने गर्दछ। व्यवसायमा होमिन चाहने महिलालाई घरपरिवार र व्यवसाय दुवैको जिम्मेवारी सम्हाल्नुपर्ने बाध्यता हुन्छ। 

अझै हाम्रोजस्तो पुरुषप्रधान समाजमा त महिलाले घरपरिवारको परिधिबाट बाहिर निस्किएर व्यावपार–व्यवसाय गर्छु भन्नु फलामको चिउरा चपाउनुुजत्तिकै हो। महिलाको क्षमता, बौद्धिकता र निर्णय लिन सक्ने आत्मबलमाथि गरिने आशंकाका कारण उनीहरुले हत्तपत्त व्यवसायमा हात हाल्ने आँट नगरेको पाइन्छ। 

यस्तोमा आफ्नै व्यवसाय गर्न चाहने महिलाहरुको वित्तीय तथा व्यावसायिक योजनाहरु भिन्न हुने गर्दछन्। 

कस्तो हुनुपर्छ वित्तीय योजना ?

  • व्यवसायका साथै परिवारको वित्तीय खर्चमा ध्यान दिनुपर्दछ। 
  • खर्च गर्नुका साथै बचततर्फ समेत ध्यान दिन आवश्यक हुन्छ। 
  • खर्चको लेखाजोखा गर्न मनी डायरी राख्नुपर्दछ, यसले खर्चमा नियन्त्रण गर्न सहयोग पुुग्ने गर्दछ। 
  • क्रेडिट कार्डको अनावश्यक प्रयोग गर्नबाट बच्नुपर्दछ। 
  • कारोबारका साथै निजी खर्चमा सन्तुलन कायम गर्नुपर्दछ। 

कसरी प्राप्त हुन्छ बिजनेस लोन ?

  • बिजनेस लोनका लागि राम्रो क्रेडिट स्कोर हुन आवश्यक हुने गर्दछ। 
  • समयमै ब्याज वा कर्जा तिरेर वित्तीय जिम्मेवारी निभाउनुुपर्दछ।
  • कारोबारका लागि असुरक्षित कर्जा लिनबाट जोगिनुपर्दछ।
  • क्रेडिट कार्डको प्रयोगमाथि लगाम लगाउनु पर्दछ। 
  • क्रेडिट स्कोर राम्रो बनाउनतर्फ केन्द्रित हुनुपर्दछ। 

कहाँ उपलब्ध हुन्छ बिजनेस लोन ?

विभिन्न बैंक तथा वित्तीय संस्थाहरुबाट बिजनेस लोन लिन सकिन्छ। विभिन्न बैंकहरुले महिलाहरुलाई लक्षित गरी विभिन्न कर्जा योजनाहरु दिने गर्छन्। जस्तै– बैंक अफ काठमान्डूले व्यवसाय गर्न चाहने महिलाहरुका लागि महिला उद्यमशील कर्जा भन्ने योजना सञ्चालन गरिरहेको छ। 

आफ्नो ख्याल कसरी राख्ने ?

व्यवसायका साथ–साथै आफ्नो ख्याल राख्न पनि आवश्यक हुने गर्दछ। यसका लागि बीमा गर्न एकदमै महत्वपूर्ण हुने गर्दछ। भविष्यमा आइपर्ने भवितव्यका लागि स्वास्थ्य बीमासँगै जीवन बीमा गर्नुपर्दछ। 

आपतकालीन कोष

व्यवसाय जुनसकै भए पनि अनिश्चिनता जहिले पनि कायम रहेको हुन्छ। त्यसैले अचानक उत्पन्न हुने आवश्यकताका लागि आपतकालीन कोषको व्यवस्था हुनुपर्दछ। यस्तो कोष कारोबारको सानातिना आवश्यकताका लागि प्रयोग गर्नुहँुदैन। यस्तो गर्नबाट जागिनु पर्दछ। 

अवकाश योजना 

अवकाश योजना वित्तीय योजनाको एउटा महत्वपूर्ण हिस्सा हो। अवकाशका लागि नियमित रुपमा बचत वा लगानी गर्ने बानी बसाल्नुपर्दछ। अवकाशका लागि गरिएको यस्तो बचत वा लगानी व्यवसायका लागि वा अन्य प्रयोजनका लागि खर्च गर्नबाट जोगिनु पर्दछ। अवकाश तथा अन्य वित्तीय लक्ष्यहरुका लागि पनि लगानीलाई जारी राख्नुपर्दछ। 

भिन्न–भिन्न खर्च 

व्यवसाय र निजी खर्च दुवैलाई भिन्दाभिन्दै राख्नुपर्दछ। व्यक्तिगत र व्यावसायिक खाताहरु छुट्टाछुट्दै खोल्नुपर्दछ। बिजनेसको फन्डिङका क्रममा यो योजना काम लाग्ने गर्दछ। व्यावसायिक र निजी जीवन अलग–अलग राख्नु प्रोफेसनल हुनु हो। 

कहाँ गर्ने लगानी ?

आफ्नो पार्टफोलियोमा विविधता कायम राख्नुपर्दछ। इक्विटी फन्ड, म्युचुुअल फन्ड र पीएफ फन्डमा लगानी गर्नु उपयुक्त हुन सक्छ। लगानीमा गरिने विविधताले जोखिमलाई कम गर्न सहयोग पुर्याउने गर्दछ। बैंकको बचत योजनाहरुमा गरिने परम्परागत लगानी त्यति फाइदाजनक हुने गर्दैन। 

वित्तीय योजनाकार कति आवश्यक ?

वित्तीय योजनाका लागि योजनाकार एकदमै आवश्यक हुने गर्दछ। वित्तीय योजनाकारले लक्ष्यहरु प्राप्तिका लागि उपयुक्त योजनाहरु विकास गर्नका लागि सहयोग पुर्याउन सक्छन्। यस्तै खर्च र लगानीसम्बन्धी विषयमा समेत वित्तीय योजनाकारले सहयोग पुर्याउन सक्दछ। वित्तीय योजनाकारको सहायताले वित्तीय व्यवस्थापन गर्न सजिलो हुने गर्दछ। – एजेन्सीको सहयोगमा