काठमाण्डौ । सर्वसाधारणलाई आइपीओ बिक्री गरी शुक्रबार बाँडफाँड गरेको सबैको लघुवित्त वित्तीय संस्थाले आफ्ना सेयरधनीलाई यो वर्ष १५ प्रतिशतसम्म लाभांश वितरणको घोषणा गरेको छ । 

आइपीओ बाँडफाँड कार्यक्रममा कम्पनीका प्रमुख कार्यकारी अधिकृत केशवकुमार पौडेलले यस्तो घोषणा गरेका हुन् । 

आर्थिक वर्ष २०७५/७६ मा कम्पनीले ५ करोडको हाराहारीमा खूद नाफा आर्जन गर्ने र लगानीकर्तालाई १५ प्रतिशतसम्म नगद लाभांश वितरण गर्ने सीइओ पौडेलले जानकारी दिए । 

यो कम्पनीले कम्पनीले १०० रुपैयाँ अंकित दरका ५ लाख ३० हजार कित्ता आइपीओ निश्कासन गरेको थियो । 

साउन १ गतेदेखि खुलेको आइपीओमा साउन ५ गतेसम्म आवेदन दिन पाइने व्यवस्था गरिएको थियो । 

कुल निश्कासित कित्तामध्ये ८ हजार २५० कित्ता लघुवित्त कम्पनीका कर्मचारीका लागि, २६ हजार ५०० कित्ता म्युचुअल फण्डहरुका लागि र बाँकी रहेको ४ लाख ९५ हजार २५० कित्ता सर्वसाधारणका लागि छुट्याइएको थियो । 

आइपीओमा ३ लाख १ हजार ७३८ जनाले आवेदन दिएका थिए । कुल ५५ लाख ५७ हजार ६२० कित्ता खरीदका लागि आवेदन परेको थियो।

आइपीओ बाँडफाँडसँगै अब केही दिनभित्रै दोश्रो बजारमा सूचिकरणको सम्झौता हुनेछ । सम्झौतासँगै यो कम्पनीको सेयर समेत दोश्रो बजारमा कारोबार हुन थाल्नेछ ।