काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले एफपीओ जारी गर्ने प्रक्रिया अगाडि बढाएको छ। 

संस्थाले वित्तीय संस्थाको प्रबन्धपत्रमा भएको व्यवस्थाबमोजिम सेयर पुँजी संरचना अनुपात ७०ः३० (संस्थापकःसर्वसाधारण) कायम हुने गरी नपुग सेयरको एफपीओ ल्याउने प्रक्रिया अगाडि बढाएको हो। संस्थाले ३ करोड ३२ लाख ८५ हजार ६०० रुपैयाँबराबरको एफपीओ ल्याउनेछ। जसअनुसार संस्थाले ३ लाख ३२ हजार ८५६ किता एफपीओ निष्कासन गर्नेछ। 

यसैगरी संस्थाले एफपीओ निष्कासन तथा बिक्री प्रबन्धकमा मुक्तिनाथ क्यापिटललाई नियुक्त गरेको छ। बिक्री प्रबन्धक नियुक्तिसम्बन्धी सम्झौतापत्रमा आज समता घरेलु लघुवित्तको काभ्रेको बनेपास्थित केन्द्रीय कार्यालयमा हस्ताक्षर भएको छ। 

सम्झौतापत्रमा समता घरेलु लघुवित्तका तर्फबाट प्रमुख कार्यकारी अधिकृत डा. मदन घिमिरे र मुक्तिनाथ क्यापिटलका तर्फबाट प्रमुख कार्यकारी अधिकृत कविन्द्रध्वज जोशीले हस्ताक्षर गरेका छन्। मुक्तिनाथ क्यापिटल मुक्तिनाथ विकास बैंकको सहायक कम्पनी रहेको र नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त मर्चेन्ट बैंकर संस्था हो।

२०७९ चैत मसान्तसम्म संस्थाको अधिकृत पुँजी ५० करोड रुपैयाँ, कुल जारी तथा चुक्ता पुँजी ४२ करोड ७४ लाख ४१ हजार ४२१ रुपैयाँ र कर्जा लगानी ३ अर्ब १० करोड गरी कुल ६२ हजार ग्राहकलाई सेवा दिइरहेको छ। संस्थाको हाल शाखा संख्या ६१ वटा पुगेको छ।