काठमाण्डौ । असार आर्थिक वर्षको क्लोजिङ महिना पनि हो। आर्थिक वर्षको क्लोजिङको बेला बैंक तथा वित्तीय संस्थाहरुमा मात्रै नभएर हरेक क्षेत्रमा कामको चाप परेको हुन्छ। 

यो महिना ऋणीहरुले आफ्ना कर्जाको साँवा–ब्याज भुक्तानी तथा कर्जा नवीकरण गर्नुपर्ने हुन्छ। यदि यो महिना ऋणको साँवा–ब्याज भुक्तानीमा चुक्यो भने ऋणीहरुले विभिन्न झमेला वा समस्या भोग्नुपर्ने हुन्छ। 

त्यसैले नेपाल राष्ट्र बैंकले समयमै कर्जा र ब्याजको भुक्तानी गर्न ऋणीहरुलाई आग्रह गर्दै जनचेतनामूलक सूचना जारी गरेको छ। समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा आइपर्ने समस्याका बारेमा सूचनामा खुलस्त पारिएको छ। 

राष्ट्र बैंकका अनुसार समयमै कर्जा र ब्याज भुक्तानी नगर्दा ऋणीको नाम कालोसूचीमा पर्न सक्छ। धितो पनि लिलामी हुन सक्छ। ‘सामाजिक प्रतिष्ठामा आँच आउँछ’, सूचनामा भनिएको छ, ‘कालोसूचीमा नाम पर्यो भने त व्यवसाय गर्न बैंकहरुले कर्जा पनि दिँदैनन् र खाता पनि खोल्न पाइँदैन।’

ऋण लिएपछि कर्जा र ब्याज तिर्नु ऋणीको दायित्व रहेको राष्ट्र बैंकले प्रस्ट पारेको छ।