काठमाण्डौ । आफ्नै अनुगमनमा व्यवस्थित सम्पत्ति शुद्धीकरणलाई अनुमति दिएको अस्ट्रेलियाका ठूला बैंकहरुमध्ये एक वेस्टपाक बैंक रेकर्डतोड १ बिलियन डलर हाराहारीमा जरिवाना तिर्न सहमत भएको छ।
बैंकले अस्ट्रेलियामा आर्थिक अपराधको नियमन गर्ने अस्ट्याकसँग गत बिहीबार १.३ बिलियन अस्ट्रेलिया डलर (९२० मिलियन डलर) तिर्न सम्झौता गरेको हो। सम्झौताका क्रममा बैंकले २ करोड ३० लाखपटक सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कानुनको उल्लंघन गरेको स्वीकारेको छ। ‘म बैंकबाट हुन गएको यो गम्भीर भूलप्रति क्षमायाचना गर्न चाहन्छु’, बैंकका सीईओ पिटर किङले भने, ‘हामी यी मुद्दाहरु सच्याउन प्रतिबद्धा छौँ ता कि पछि भविष्यमा यस्ता त्रुटि नदोहोरिऊन्। यो विषय मेरो पहिलो प्राथमिकतामा परेको छ।”
वेस्टपाक बैंकले रेकर्डतोड जरिवाना तिर्ने सहमित जनाएपछि बिहीबार बैंकको सेयरमूल्य १ प्रतिशतले घटेको छ।
अस्ट्रेलियाका नियामकहरुले गत वर्ष नै वेस्टपाकलाई देशभित्र र बाहिर वित्तीय हस्तान्तरण गर्न दिएका लाखौँ अनुमतिहरुको रिपोर्ट प्रदान गर्न असर्मथ रहेको भन्दै कानुनी कारबाही गरेका थिए। यो मामिलाका कारण गत वर्षको नोभेम्बर महिनामा बैंकका सीईओ ब्रायन हार्टजरले राजीनामा दिनु परेको थियो।
यदि यो जरिवाना त्यहाँको अदालतबाट पारित भयो भने यो अस्ट्रेलियाको इतिहासमा सबैभन्दा ठूलो कर्पाेरेट जरिवाना हुनेछ। यसअघि सन् २०१८ मा कमनवेल्थ बैंक अफ अस्ट्रेलियालाई सम्पत्ति शुद्धीकरण र आतंकवादी क्रियाकलापमा वित्तीय लगानीसम्बन्धी कानुनलाई पालना गर्न असमर्थ रहेको भन्दै ४९३ बिलियन डलर जरिवाना लगाइएको थियो। – एजेन्सी
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19