FinMin VS Governer
काठमाण्डौ । नेपाल राष्ट्रबैंक नेपाल सरकारको प्रमुख आर्थिक सल्लाहकार हो । यति महत्वपूर्ण भूमिकामा रहेको निकायको कमाण्ड सम्हाल्ने व्यक्ति नै सरकारको नीति तथा कार्यक्रम र बजेटको कटु आलोचक बनेर प्रस्तुत भए भने देश÷विदेशमा कस्तो सन्देश जाला ? फेरि प्रमुख आर्थिक सल्लाहकारको भूमिका निर्वाह गर्नुको साटो सरकार र विशेष गरी प्रधानमन्त्रीले देखेको सपनाकै उछितो काँड्दै त्यस्तो निकायको कमाण्डर हिँड्न थाले, देशले देखेको समृद्धिको सपना कसरी पूरा होला ? देशमा पछिल्लो समय यस्तै गम्भीर समस्या देखिएको छ ।
पछिल्लो समय सरकारको प्रमुख आर्थिक सल्लाहकार नेपाल राष्ट्रबैंकका गभर्नर डा. चिरञ्जिवी नेपाल सरकारले ल्याएको नीति तथा कार्यक्रम र प्रधानमन्त्री केपी ओलीले देश विकासका लागि देखेको सपनाको धुरन्धर विरोधी भएर प्रस्तुत हुन थालेका छन् । सरकारका लागि रचनात्मक सुझाव दिएर प्रस्तुत हुनुपर्ने र देशको कार्यकारी प्रमुखले देखेको आर्थिक विकासको सपना साकार पार्न प्रभावकारी भूमिका निर्वाह गर्नुपर्ने गभर्नर नै किन नकारात्मक रुपमा प्रस्तुत भइरहेका होलान् ?
गभर्नर डा. नेपाल आखिर सरकारप्रति किन यसरी प्रस्तुत भइरहेका होलान ?
उच्च समाचार स्रोतका अनुसार गभर्नर डा. नेपाल काठमाण्डौका सार्वजनिक समारोहदेखि राष्ट्रबैंकका आन्तरिक बैठक तथा अन्य सरोकारवालाहरुसँगको छलफलमा समेत सरकारको विरोध गरिरहेका हुन्छन् । उनले केही दिनअघि राजधानीमा आयोजित एक सार्वजनिक समारोहमा सरकारको नीति तथा कार्यक्रम र प्रधानमन्त्रीको समेत कटु आलोचना गरेका थिए । ‘हावादारी सपना देखेर पनि हुन्छ ? देशको अवस्था कहाँ पुग्यो ? अर्थतन्त्रको अवस्था के छ विचार नगरी जथाभावी बोलेर हुन्छ ?’ प्रधानमन्त्री केपी ओलीप्रति लक्षित अभिव्यक्ति दिंदै गर्भनर डा. नेपालले भनेका थिए–‘बजेट सुन्दा मात्र लोकप्रिय ल्याएर के गर्नु ? कार्यान्वयन पनि हुनुपर्यो होला नि । गफले मात्र मुलुक बन्दैन ।’ सरकारको महत्वपूर्ण निकायको प्रमुखले देशकै कार्यकारी प्रमुखप्रति निकै सस्तो टिप्पणी गरेको भन्दै सोही कार्यक्रमका सहभागीले समेत उनको आलोचना गरेका थिए । त्यस बाहेकका अन्य कार्यक्रममा समेत उनले सरकारले आगामी आर्थिक वर्षका लागि ल्याएको नीति तथा कार्यक्रमको आलोचना गर्ने गरेका छन् । गभर्नर डा. नेपाल आखिर सरकारप्रति किन यसरी प्रस्तुत भइरहेका होलान ? उनले देशकै कार्यकारी प्रमुखले देखेको समृद्धिको सपनाप्रति किन बिम वमन गरिरहेका होलान ?
कांग्रेसका मान्छे, अर्थमन्त्रीसँग रुष्ट
गभर्नर डा. नेपाल एमाले नेतृत्वको वर्तमान सरकारको कटु आलोचक बन्दै प्रस्तुत हुनु पछाडिको एउटा महत्वपूर्ण कारण उनको राजनीतिक आस्था र विचार हो । सुशील कोइराला प्रधानमन्त्री हुँदा उनका प्रमुख आर्थिक सल्लाहकार रहेका डा. नेपाल कांग्रेसको सरकारको पालामा पार्टीकै रोजाईंमा गभर्नर नियुक्त भएका थिए । यसअर्थमा हाल कांग्रेस सत्तामा छैन र उसले प्रमुख प्रतिपक्षको टेबलमा बसेर सरकारको नीति तथा कार्यक्रमलाई हावादारी, उच्च महत्वकांक्षी र कार्यान्वयन नहुने मीठो गफको संज्ञा दिंदै आएको छ । आफू कांग्रेस कार्यकर्ता भएका, कांग्रेसकै निगाहामा गभर्नर बनेका कारण नूनको सोझो गर्नलाई समेत गभर्नर सरकारका लागि असहयोगी बनेर प्रस्तुत भइरहेका स्रोतहरु दाबी गर्छन । ‘यहीकारण प्रतिपक्षको जस्तो भाषा गभर्नरले पनि बोल्न थालेका छन् ।’ स्रोतले भन्यो–‘कांग्रेस र उसको सरकार हुँदा गभर्नर बनाइएका कांग्रेस कार्यकर्ता गभर्नरको ट्यूनिङ मिलिरहेको देखिन्छ ।’
यसअर्थमा हाल कांग्रेस सत्तामा छैन र उसले प्रमुख प्रतिपक्षको टेबलमा बसेर सरकारको नीति तथा कार्यक्रमलाई हावादारी, उच्च महत्वकांक्षी र कार्यान्वयन नहुने मीठो गफको संज्ञा दिंदै आएको छ । आफू कांग्रेस कार्यकर्ता भएका, कांग्रेसकै निगाहामा गभर्नर बनेका कारण नूनको सोझो गर्नलाई समेत गभर्नर सरकारका लागि असहयोगी बनेर प्रस्तुत भइरहेका स्रोतहरु दाबी गर्छन ।
सरकारले प्रस्तुत गरेको बजेटसँग जोडिने र आर्थिक विकास तथा स्थिरता, यस्तै आर्थिक वृद्धिदर तथा महंगी नियन्त्रणसँग प्रत्यक्ष सम्बन्ध रहने निकाय नेपाल राष्ट्रबैंक हो । यो निकायले हरेक आर्थिक वर्षका लागि जारी गर्ने मौद्रिक नीतिले समेत सरकारी कार्यक्रम सफल र असफल हुने कुरा निर्भर हुन्छ । एमालेका केही नेताहरुले त सरकारले भने अनुसार पहिलाको भन्दा केही समयअघि मौद्रिक नीति जारी गर्न गभर्नरले ढिलाई गरेका र अब आउने मौद्रिक नीति समेत कांग्रेसकै निर्देशन अनुसार कमजोर बनाउन सक्ने गम्भीर आरोप लगाएका छन् । ‘सरकारले गभर्नर डा. नेपालको नेतृत्वमा बन्ने मौद्रिक नीतिमा विशेष ध्यान दिन आवश्यक छ ।’ पूर्वअर्थमन्त्री समेत रहेका एमालेका एक नेताले भने–‘पछिल्लो कालमा गभर्नरको भूमिका सरकारलाई असहयोग गर्ने खालको देखिएको छ ।’ उनले कांग्रेस कोटाबाटै नियुक्त भए पनि पार्टी होइन, गभर्नरले देश विकासको सरकारी मुद्धाप्रति इमानदार बन्नुपर्ने उनको सुझाव छ ।
पछिल्लो समय गभर्नर डा. नेपाल बैंक तथा बित्तीय संस्था संचालन सम्बन्धी विधेयक(माफिया)को संसोधन प्रक्रियाको बिषयमा समेत सरकारसँग रुष्ट रहेका स्रोत बताउँछ । ‘आफ्नो भूमिकालाई कमजोर बनाएर बाफियामा आफूले नचाहेका कुराहरु राखिएको भन्दै उनी अर्थमन्त्री विष्णु पौडेलसँग पनि फायर भएका थिए । पछिल्लो पटक बाफिया पुनः छलफलका लागि भन्दै संसदबाट अर्थसमितिमै फिर्ता भएपछि उनलाई केही राहात भएको हुनुपर्छ ।’ अर्थमन्त्री निकट स्रोतले भन्यो । अर्थमन्त्री पौडेल आफैं नरम स्वभावका भएकाले मात्र बाहिरबाट हेर्दा गभर्नरको ट्यूनिङ मिलेको जस्तो देखिए पनि भित्रभित्रै असमझदारीहरुको थुप्रो रहेका अर्थ स्रोत दाबी गर्छ ।
आफू कांग्रेसको लाइनबाट आएकै कारण सरकारले हरेक कुरामा आफ्नो भूमिकालाई कमजोर बनाउन थालेको बुझेका कारण डा. नेपाल पनि सरकारको कटु आलोचक बन्न थालेका हुनसक्ने केही स्रोतहरु बताउँछन ।
त्यसो त गभर्नर डा. नेपाल राष्ट्रबैंकमा रिक्त रहेको दुई डेपुटी गभर्नर नियुक्तिको समयमा समेत सरकारी ढिलासुस्तीप्रति दिक्क थिए । अर्थमन्त्री पौडेलले गभर्नरका कारण नियुक्तिमा ढिलाई भएको बताउथे भने गभर्नर चाहि अर्थमन्त्रीका कारण ढिलाई भएको बताउथे । तर भित्री कुरा चाहि दलीय भागबण्डाकै लफडा थियो । एमाले दुवै डेपुटीमा आफ्ना कार्यकर्ता लैजान चाहन्थ्यो भने गभर्नर चाहि एकजना कांग्रेसलाई लान चाहन्थे । गभर्नरको यो कुरा बुझेको र उनको सिफारिसबिना डेपुटी नियुक्ति हुनै नसक्ने देखेपछि करिब ३ महिनाको रस्साकस्सीपछि बल्ल केन्द्रीय बैंकले दुई डेपुटी गभर्नर पाएको थियो । ती दुईमध्ये प्रधानमन्त्रीले हस्तक्षेप गरी एकमा झापालीलाई नियुक्त गरेका थिए भने अर्का चाहि कांग्रेस विचारसँग सहमत भए पनि आफ्नी पत्नीतर्फका आफन्तलाई डेपुटी गभर्नर बनाएका थिए । आफूलाई चक्मा दिएर दुवै पदमा एमाले नेतृत्वको सरकारले आफू अनुकुलको व्यक्तिलाई डेपुटी बनाएपछि गभर्नर नेपाल सरकारसँग थप रुष्ट भएका थिए ।
अर्कोतर्फ, केन्द्रीय बैंकमा रहेको एमाले निकट कर्मचारी युनियनसँग समेत गभर्नर नेपालको कुरा मिल्न सकेको छैन । तर सरकार नेतृत्व गरिरहेको एमालेले कतिपय बिषयमा आफू निकटको कर्मचारीलाई काखी च्यापेपछि गभर्नर थप रुष्ट बनेका स्रोत दाबी गर्छ ।
पूर्व गभर्र्नर दीपेन्द्रबहादुर क्षेत्रीले पछिल्लो समय गभर्नर डा. नेपालले सरकार र प्रधानमन्त्रीविरुद्ध सस्तो र केटाकेटी टिप्पणी गर्दैै हिँडेको आफूले पनि सुनेको उल्लेख गर्दै यस्तो बचपना छाड्न र सरकारसँग केही असमझदारी भए त्यसलाई कुटनीतिक ढंगले सुल्झाउन सुझाव दिएका छन् । ‘उहाँमा अलिक बढी केटाकेटीपन देखियो ।’ उनले बिजशालासँग भने–‘सरकारलाई यसरी ठाडो चुनौति दिंदै हिँड्नु र प्रधानमन्त्रीसँग यसरी टसल गर्नु गभर्नरका लागि सुहाउने कुरा भएन, सायद ओली नेतृत्वको सरकार परिवर्तन भइहाल्ला भनेर समेत उहाँ यसरी प्रस्तुत भएको हुनसक्नुहुन्छ ।’ पूर्व गभर्नर क्षेत्रीले गभर्नर र सरकारबीच तालमेल नहुँदा अर्थतन्त्रमा ठूलै असर पर्नसक्नेतर्फ गम्भीर हुनुपर्नेमा जोड दिए । सरकारको वितरणमुखी बजेटले मूल्यवृद्धि बढाउने र यसलाई नियन्त्रणको जिम्मा राष्ट्रबैंकको रहेकाले गभर्नर यस्ता बिषयमा गम्भीर बन्नुपर्नेमा जोड दिए । ‘यस्तो टसलले अर्थतन्त्रमा विकृति बढ्न सक्छ ।’ उनले थपे–‘गभर्नर र अर्थमन्त्रीबीच ट्यूनिङ मिलेन भने बजेटका महत्वपूर्ण कुरा मौद्रिक नीतिमा नपर्नसक्छ ।’ बितेको बर्षको राजश्वको ५ प्रतशित भन्दा बढी आन्तरिक ऋण उठाउन नपाइने व्यवस्था रहेको उल्लेख गर्दै उनले भने–‘यदि गभर्नर सकारात्मक भएनन् भने यस्तो ऋण उठ्न संभव नै हुन्न ।’ उनको भनाईमा मुलुकको समृद्धि र हितका लागि गभर्नर र अर्थमन्त्री मिलेरै अगाडि बढ्नु श्रेयस्कर हुन्छ ।
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19
2024-01-19