काठमाण्डौ । अहिले बीमाको महत्व बढ्दै गएको छ। मानिसहरुले बीमा गर्दा सम्भावित परिघटनाबाट हुन सक्ने ठूलो आर्थिक भार कम हुने बुझ्न थालेका छन्। 

बीमाबारे जनचेतना बढ्दै गए पनि केही कम्पनीको बदमासीले गर्दा बेला–बेला बीमा क्षेत्र बद्नाम हुँदै आएको छ। सुनसरीको इटहरीस्थित कुबेर एन्ड सन्स प्रालिका सञ्चालकले पनि बीमा कम्पनीले क्षतिको न्यायोचित दाबी भुक्तानी नदिएको गुनासो गरेको छ। 

कुबेर एन्ड सन्स ट्रेडका सञ्चालक जेपी घिमिरेले लामो समयदेखि बीमा कम्पनीले उचित क्षतिपूर्ति नदिएको गुनासो पोखेका हुन्। ‘बीमा गर्ने बेलामा आकर्षक अफर देखाउने तर बीमा दाबी भुक्तानीमा आलटाल गर्दै निकै कम क्षतिपूर्ति दिने बीमा कम्पनीहरुको चरित्र रहेको छ’, उनले बिजशालसँग भने। 

२०७९ साल असार १३ गतेको बाढीले ४६ लाख रुपैयाँबराबरको गोदाममा रहेका मेसिनेरी सामान क्षति भएकोमा बीमा कम्पनीले जम्मा साढे ८ लाख रुपैयाँको मात्रै दाबी भुक्तानी दिन खोजेको घिमिरेको आरोप छ। उनले साबिक लुम्बिनी जनरल इन्स्योरेन्स (हाल सगरमाथा लुम्बिनी इन्स्योरेन्स (सलिको)बाट २ करोड रुपैयाँको सम्पत्ति बीमा गराएका थिए। 

गत वर्षको बाढीबाट गोदाममा रहेको ४६ लाख रुपैयाँबराबरको सम्पत्ति क्षति भएको घिमिरेको दाबी छ। ‘क्षति भएको १० महिनापछि मात्रै कम्पनीबाट ८ लाख ५४ हजार ६० रुपैयाँ भुक्तानी गर्न सकिने भनेर पत्र आयो’, घिमिरेले भने, ‘कम्पनीमा विश्वास गरेर बीमा गरियो, ४ लाख रुपैयाँबराबरको क्षति हुँदा जम्मा ८ लाखमात्रै भुक्तानी गर्न खोजिएको छ।’ 

‘आधाभन्दा कममात्रै क्षतिपूर्ति दिन खोज्नु कम्पनीको ठगी हो’, घिमिरेले भने, ‘बीमितले नियमसंगत दाबी भुक्तानी पाउनुपर्छ।’ 

बाढी क्षतिको बीमा दाबीका लागि घिमिरेले तत्काल सबै प्रक्रिया पूरा गरेर बुझाएका थिए। तर, कम्पनीले २०८० वैशाख २४ गतेमात्रै दाबी फर्छ्यौट पुर्जा तयार पारेको थियो। 

घिमिरेले इटहरी शाखामार्फत बीमा गराएका थिए। ‘पटक–पटक ८ लाख रुपैयाँको भ्यालुएसन केका आधारमा गरेको भनेर सोध्दासमेत कम्पनीले जबाफ दिँदैन’, उनले भने। 

गोदाममा उच्च मूल्यका मेसिनरी सामानहरु नष्ट भएको घिमिरेको भनाइ छ। ‘क्षतिपूर्तिका लागि इटहरी शाखामा डकुमेन्टहरु पेस गर्दा साढे ८ लाख रुपैयाँ मात्रै भुक्तानी गर्न सकिने कम्पनीले जानकारी दिएको छ’, उनले भने, ‘कम्पनीले कोठाभन्दा बाहिर रहेको सामानको क्षतिपूर्ति दिन नसकिने भन्छ। गोदाममा प्याराफिटमा सामान राख्छौँ, कोठाभित्र सबै सामान राख्न सम्भव पनि छैन।’ 

कम्पनीले सम्पत्ति बीमा गर्नुअघि दाबी भुक्तानीका सबै प्रक्रिया र नियमहरु नखुलाउने गरेको घिमिरेको गुनासो छ। ‘भुक्तानी गर्ने बेलामा मात्रै अनेक बहाना बनाई टार्न खोज्छन्’, उनले भने। 

क्षति भएको सम्पत्तिको १०–१५ प्रतिशतमात्रै दाबी भुक्तानी पाउने भएपछि घिमिरेले यसको विरोध गर्दै गत साउन ३० गते पत्रकार सम्मेलनसमेत गरेए। पत्रकार सम्मेलनकै क्रममा उनले इटहरी शाखा प्रमुख कमलप्रसाद पौडेलसँग फोनमा कुरा गरेका थिए। पौडेलले सर्भेयरको रिपोर्टअनुसार नै दाबी भुक्तानी दिने बताए। 

घिमिरेका अनुसार साढे ८ लाख रुपैयाँमात्रै भुक्तानी लिन नमानेपछि पौडेलले १ लाख रुपैयाँ थपिदिने भन्दै क्यास नै बोकेर गएका थिए। ‘पौडेलले १ लाख रुपैयाँ थप्ने प्रलोभन देखाएका थिए’, उनले भने, ‘दाबी भुक्तानीको विषयमा पटक–पटक कुरा उठाउँदा उनले केन्द्रीय कार्यालयसँग सम्पर्क भएको बताए।’

क्षति मूल्यांकन वा सर्भे गरी दाबी भुक्तानी गर्ने कुरा गरे पनि कुनै पहल नभएको घिमिरेको भनाइ छ। ‘हिजोमात्रै हेड अफिसको क्लेम डिपार्टमेन्टबाट मेल आएको थियो’, उनले भने, ‘सर्भेयरबाट आएको रिपोर्टअनुसार साढे ८ लाख रुपैयाँमात्रै भुक्तानी गर्न सकिने भनिएको छ।’ 

घिमिरेले सगरमाथा लुम्बिनी इन्स्योरेन्सले यसअघि पनि आफूलाई क्षतिको तुलनामा निकै कम रकम दिएको बताए। ‘बीमा कम्पनीको यस्तो लापारबाहीले गर्दा हजारौँ बीमित पाउनुपर्ने क्षतिपूर्तिबाट वञ्चित हुनुपरेको छ’, उनले भने। 

कम्पनीको यस्तो खालको प्रस्ताव बीमितका लागि न्यायोचित नहुने घिमिरेले बताए। ‘पाउनुपर्ने क्षतिपूर्ति रकमभन्दा धेरै न्यून रकमले गर्दा बीमा कम्पनीप्रतिको विश्वास गुम्दै गएको छ’, उनले भने। 

सगरमाथा लुम्बिनी इन्स्योरेन्सका प्रमुख कार्यकारी अधिकृत (सीईओ) चंकी क्षेत्रीले सर्भेयरले दिएको रिपोर्टकै आधारमा कुबेर एन्ड सन्स ट्रेडका सञ्चालक घिमिरेलाई दाबी भुक्तानी गर्न लागिएको बताए। ‘बीमितले पनि सर्भेयरले गरेको मूल्यांकन प्रतिवेदन बुझ्न जरुरी छ’, उनले भने, ‘हचुवाको भरमा के–कति क्षति भएको अनुमान गरेर दाबी गर्नु मूर्खता हो।’

सीईओ क्षेत्रीले सम्बन्धित बीमितको चित्त नबुझेको खण्डमा केन्द्रीय कार्यालयसँग कुरा राखेर कानुनी प्रक्रियाबाट अघि बढ्न सक्ने बताए। ‘तर, कुरै नबुझी एकतर्फीमात्रै कुरा राख्नु गलत हो’, उनले भने।