काठमाण्डौ । चालू आर्थिक वर्ष २०८०/ ०८१को  शुरुवाती तीन महिनामा ५ अर्ब १७ करोड ७१ लाख रुपैयाँ बराबरको चारपांग्रे विद्युतीय सवारी आयात भएको छ ।

भन्सार विभागले दिएको जानकारी अनुसार चालू आवको साउन, भदौ र असोजमा २ हजार १३५ वटा चारपांग्रे सवारी आयात भएका छन् । सरकारले चालू आर्थिक वर्षको नीति तथा कार्यक्रममा सार्वजनिक स्थलमा विद्युतीय सवारीलाई प्रवर्द्धन गर्ने बताएको थियो ।

सरकारले बजेटमार्फत १०० किलोवाटभन्दा माथिका विद्युतीय सवारीको कर दर घटाएको छ भने १०० किलोवाटभन्दा मुनिका सवारीमा करको दर बढाएको छ । सरकारले करको दर घटाए पनि १०० किलोवाटभन्दा माथिका सवारीको आयात बढ्न सकेको छैन भने १०० किलोवाटभन्दा मुनिका सवारीमा चाहिं  उपभोक्ताको आकर्षण रहेको देखिएको छ ।

विभागका अनुसार उक्त अवधिसम्ममा ५१ देखि १०० किलोवाटसम्मका सबैभन्दा बढी १ हजार १६६ वटा सवारीसाधन आयात भएका छन् । 
 

५० किलोवाटसम्मका ९५४ वटा सवारीसाधन आयात भएका छन् । गत आर्थिक वर्षको सोही अवधिसम्ममा २ अर्ब ५० लाख ६५ हजार रुपैयाँ बराबरका विद्युतीय सवारीसाधन आयात भएका थिए । 

नेपालमा भारत,चीन,दक्षिण कोरिया र बेलायतबाट विद्युतीय सवारी साधान आयात हुने गरेको छ ।