काठमाण्डौ । सहयोगी विकास बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृतमा विनय रिजाल नियुक्त भएका छन् । 

बैंक सञ्चालक समितिको बैठकले उनलाई ४ वर्षका लागि प्रमुख कार्यकारी अधिकृतको पदमा नियुक्त गरेको हो । 

एमबीएसम्मको अध्ययन गरेका रिजाल यसअघि सिभिल बैंकको क्रेडिट एड्मिनिस्ट्रेशन विभाग(सिएडी)को प्रमुख पदमा कार्यरत थिए ।

विशेषगरी बाणिज्य बैंकहरुमा उनले आफ्नो कार्यअनुभव हासिल गरेका छन् । सिभिल बैंक बाहेक उनले एनबी बैंकमा लामो समय काम गरेका थिए । ती बैंकहरुको विभिन्न विभागहरुको उच्च तहमा रहेर काम गरेका उनीसँग २० वर्षे बैकिंग अनुुभव छ ।

बैंकिङ क्षेत्रको आफ्नो विगतको अनुभवलाई बैंकको हित र प्रगतिका लागि प्रयोग गर्ने उनले बताए । ‘बैंकको ख्यातिलाई थप उचाईमा पु¥याउँदै ग्राहक, सेयरधनीको हित र उन्नतीमा आफ्नो जोड रहनेछ ।’ प्रमुख कार्यकारी अधिकृत रिजालले भने– ‘त्यसका लागि म अहोरात्र खटिरहने छु ।’

बैंक सञ्चालक समितिले दिएको जिम्मेवारी र विश्वास प्रति आफू प्रतिबद्ध रहको बताउँदै उनले बैंकिङ क्षेत्रमा देखिएको वर्तमान चुनौतिलाई अवसरमा परिणत गरेर देखाईदिने दाबी समेत गरे ।

सहयोगी विकास बैंकको मूख्य कार्यालय २ नं. प्रदेशको राजधानी, धार्मिक तथा व्यापारिक नगरी जनकपुरमा रहेको छ । 

जनकपुरमा निजीक्षेत्रको बैंक प्रवेश गराउने पनि सीइओ रिजाल नै रहेका बताइन्छ । २० बर्ष अघि एनबी बैंकको शाखा स्थापना गराएर जनकपुरमा राम्रो सम्बन्ध सम्पर्क बढाएका रिजाल अहिले सोही क्षेत्रको स्थानीय बैंकको व्यवस्थापकीय नेतृत्व तहमा पुुगेका हुन् । 

सहयोगीले विभिन्न स्थानमा ८ वटा शाखा विस्तार गरिसकेको छ भने निकट भविष्यमा थप ४ शाखा बिस्तार गर्ने योजना बनाएको छ । 

बैंकमा हाल ६५ हजार ग्राहकहरु रहेका छन् । सेयर पूँजी रू. ५० करोड ९६ लाख रहेको बैंकले हालसम्म रू. ३ अर्ब ४० करोड निक्षेप संकलन, रू. २ अर्ब ९४ करोड कर्जा प्रवाह गरेको छ । बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । यो तीन जिल्ले विकास बैंक हो ।