काठमाण्डौ । सहयोगी विकास बैंक लिमिटेडले हिरो ब्राण्डको दुईचक्के सवारी साधानमा लगानी गर्ने भएको छ । 

सो सम्बन्धमा महोत्तरीको बर्दिवासमा रहेको शान्ति अटो इन्टरप्राइजेजसँग सम्झौता सम्पन्न गरेको छ । शान्ति अटो इन्टरप्राइजेजले बर्दिवासमा हिरो ब्राण्डका मोटरसाइकल बिक्री गर्दै आएको छ ।

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र शान्ति अटो इन्टरप्राइजेजको तर्फबाट प्रोप्राईटर उदिपनारायण महतोले हस्ताक्षर गरे ।

यो सम्झौताअनुसार शान्ति अटो इन्टरप्राइजेजले बिक्री गर्ने हिरो ब्राण्डका दुईचक्के सवारी साधनलाई कम्पनीले सिफारिस गरेअनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । बैंकले उक्त मोटरसाइकल मूल्यको ५० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । कर्जा लगानी पश्चात ऋणिबाट असूलीमा समस्या आएमा बैंकलाई मोटरसाइकल बिक्रेता कम्पनी शान्ति अटो इन्टरप्राइजेजले समेत सघाउनु पर्नेछ ।  

सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । ग्राहकहरुलाई फाइदा होस् भन्ने हेतुले बैंकले यस्तै अन्य कम्पनीसँग पनि सम्झौता गरिसकेको छ । विगत केही समयदेखि सहयोगी विकास बैंकले आफ्नो सेवाको दायरालाई फराकिलो पार्दै लगेको छ । 

यसै क्रममा बैंकले केही समयअघि मात्र मोवाइल बैंकिङ र प्रिभिलेज बैंकिङ सर्भिसेस सेवा सुरुवात गरेको थियो । आगामी दिनमा समेत बैंकले समय सुहाउँदो थप सेवाहरू प्रदान गर्ने प्रमुख कार्यकारी अधिकृत रिजालले बताए । 

जनकपुरमा मूख्य कार्यालय रहेको बैंकले विभिन्न ८ स्थानमा शाखा विस्तार गरी आफ्ना ग्राहकहरुलाई आधुनिक, छरितो, भरपर्दो र स्तरीय सेवा प्रदान गर्दै आइरहेको छ । बैंकले थप तीन शाखाको सफ्ट लञ्च समेत गरिसकेको छ भने भदौभित्र थप दुई शाखा सञ्चालनमा ल्याइसक्ने जानकारी दिएको छ । असोज सम्ममा १७ शाखा पुर्याउने योजनाका साथ बैंकले काम गरिरहेको छ । 

५० करोड ९६ लाख ६८ हजार रुपैयाँ चुक्ता सेयर पूँजी रहेको बैंकले हालसम्म रू. ४ अर्ब ३ करोड ८६ लाख निक्षेप संकलन गरी हालसम्म ३ अर्ब ११ करोड १३ लाख रुपैयाँ कर्जा प्रवाह गरेको छ । त्यसैगरी बैंकमा १० करोड ५३ लाख संचिति कोष रहेको छ । 

हालै प्रकाशित चौथो त्रैमासिक वित्तीय विवरणअनुसार प्रतिसेयर आम्दानीमा सहयोगी विकास बैंकले नेपालका सबै विकास बैंकलाई उछिनेको छ । यो तथ्यांकसँगै बैंक अब्बल दर्जामा रहन सफल भएको छ । अहिले बैंकको समग्र अवस्था बलियो रहेको बैंकले जानकारी दिएको छ । 

धनुषा, महोत्तरी र सिन्धुली गरी तीन जिल्लामा कार्यक्षेत्र रहेको बैंकले आफ्नो सेवालाई सर्लाही र सिराहा जिल्लामा विस्तारको तयारी गरिरहेको छ । यो बैंक नेपाल राष्ट्र बैंकबाट इजाजत प्राप्त ‘ख’ वर्गको वित्तीय संस्था हो । स्मरणीय त के छ भने आफ्नो कार्यक्षेत्र रहेको स्थानीय स्तरमा यो बैंक अन्य वाणिज्य बैंकहरु भन्दा लोकप्रिय बैंकको रुपमा स्थापित छ ।