जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले आफ्नो खुद नाफा २९१ प्रतिशतले बढाएको छ । 

बैंकले सार्वजानिक गरेको वित्तीय विवरण अनुसार आ.व. २०७५/०७६ को पहिलो त्रैमासिक विवरणको तुलनामा बैंकले सो प्रतिशतले नाफा बृद्धि गर्न सफल भएको हो । 

त्यस्तै बैंकले गत त्रैमासिक २०७५/०७६ मा असोज मसान्तमा भन्दा ११६.९८ प्रतिशतले सञ्चालन मुनाफा बृद्धि गर्न सफल छ । 

बैंकको ०७४/०७५ को असोज मसान्त सम्ममा १ करोड भन्दा बढी घाटा व्यहोर्नु परेको थियो । स्मरणरहोस बैंकले पहिलो त्रैमासिकमा अघिल्लो सोही महिनाको तथ्यांकमा पनि ३०० प्रतिशतले बृद्धि गर्न सफल भएको थियो ।

बैंकले गत अवधिको तुलनामा यस बर्ष निक्षेप तथा कर्जा लगानीमा पनि बृद्धि गरेको छ । बैंकले निक्षेपमा २५.८२ प्रतिशतले बृद्धि गरेको र कर्जा लगानीमा २४.२२ प्रतिशतले बृद्धि गरेको बैंकका प्रमुख कार्यकारी अधिकृत विनय रिजाल बताए । 

जसमा गत बर्षको तुलनामा खुद नाफालाई १५ प्रतिशतले बृद्धि गरेको छ । गत बर्ष २०७४/०७५ को यही अवधिमा निक्षेप रु. ३ अर्ब ४५ करोड ४६ लाख ६९ हजार थियो भने यस बर्षको सोही अवधिमा ४ अर्ब ३४ करोड ६८ लाख सम्म पुर्याउन बैंक सफल भएको छ । 

त्यसैगरी लगानी तर्फ २ अर्ब ८४ करोड ८८ लाख ७१ हजार प्रवाह गरेको थियो भने यस बर्षको सोही अवधिमा बढाएर ३ अर्ब ६८ करोड १२ लाख ६६ हजार पुर्याउन सफल भएको छ । 

बैंकको व्याज आम्दानीमा सामान्य बृद्धि भए पनि बैंकले ‘एभरेज इन्ट्रेस्ट स्प्रेड’ दर ५.१० प्रतिशतमा कायम गर्न सफल भएको छ । 

बैंकले आफ्नो निष्क्रिय कर्जा २.४५ प्रतिशतबाट १.६३ प्रतिशतमा झार्न सफल भएको तथ्यांकले देखाएको छ । 

त्यस्तै बैंकले आधार दरलाई १०.८८ प्रतिशतबाट १०.२५ प्रतिशत कायम गर्न पनि सफल भएको जानकारी दिएको छ । 

बैंकद्वारा प्रकाशित वित्तीय विवरण अनुसार बैंकको कोषको लागत र आधार दर घटे पनि बैंकको लागत बढेको देखिन्छ । बैंकले गत बर्षको तलुनामा सम्पत्तिमा पनि बृद्धि गरेको छ । 

प्राविधिक हिसाबले पनि बैंकले गत बर्ष भन्दा राम्रो फड्को मारेको प्रमुख कार्यकारी अधिकृत रिजालको दाबी छ । 

गत बर्ष २०७४/०७५ को यसै अवधिमा बैंकले आफ्नो कारोबार ८ शाखा मार्फत गर्दै आएकोमा हाल आएर १२ शाखा कार्यालयबाट कारोबार सञ्चालन गर्न सफल भएको छ । यही माघ महिना भित्रै बैंकले २ शाखा थप गरी १४ शाखा मार्फत कारोबार गर्ने पनि उनले बताए । 

त्यस्तै प्रविधितर्फ आफ्नो १ बर्षे कार्यकाल भित्रमा एसएमएस बैंकिङ, मोवाइल बैंकिङ, प्रिभिलेज बैंकिङको सुविधाका साथै भिसा नेटवर्कमार्फत ३ वटा शाखामार्फत एटीएम सुविधा उपलब्ध गराउदै आएको छ । 

बैंक थप तीन शाखामा एटीएम सेवा सञ्चालन गर्ने प्रक्रियामा रहेको छ । त्यसका साथै बैंक ‘पेपरलेस बैंकिङ’ र ‘ट्याब बैंकिङ’मार्फत सेवा दिने तयारीमा रहेको पनि प्रमुख कार्यकारी अधिकृत रिजालले जानकारी दिए । 

बैंकले एक बर्षको अवधिमा २० हजार ग्राहक थप गरी अहिले ८५ हजार ग्राहक बनाउन सफल भएको छ । 

चुक्ता पूँजी ५० करोड ९६ लाख ६८ हजार रुपैयाँ रहेको बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । महोत्तरी, सिन्धुली र धनुषा कार्यक्षेत्र रहेको यो बैंकलाई प्रदेश नं. २ को उदाहरणीय बैंकको रुपमा स्थापित गराउँदै राष्ट्रियस्तरको विकास बैंक बनाउन आफू प्रतिबद्धताका साथ लागि परेको सीइओ रिजालको भनाई छ ।