जनकपुर । सहयोगी विकास बैंक लिमिटेडले लोहिआ कम्पनीको तीनचक्के टेम्पु (सवारी साधन)मा लगानी गर्ने भएको छ । 

सो सम्बन्धमा ललितपुरमा दर्ता भएको जनकपुरमा शाखा कार्यालय रहेको बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.सँग सम्झौता सम्पन्न भएको छ । 

सम्झौतामा बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत विनय रिजाल र बाबा अटोमाटा ट्रेडिङ्ग प्रा.लि.को तर्फबाट प्रोपाइटर विशाल शाहले हस्ताक्षर गरेका थिए ।

यो सम्झौता अनुसार बाबा अटोमाटा ट्रेडिङ्गले बिक्री गर्ने तीनचक्के टेम्पु (सवारी साधान)लाई उक्त ट्रडिङ्गले सिफारिस गरेअनुसार बैंकले रित पुर्याई कर्जा लगानी गर्नेछ । 

बैंकले तीनचक्के टेम्पोको  मूल्यको ६० प्रतिशतसम्म कर्जा लगानी गर्ने सम्झौतामा उल्लेख छ । तर कर्जाका लागि ग्राहकहरुले घरजग्गा समेत धितो राखेमा ७० प्रतिशतसम्म कर्जा लगानी गर्ने सो सम्झौतामा उल्लेख छ ।

कर्जा अवधि तीन वर्षसम्म मात्र रहनेछ । लगानी पश्चात ऋणिबाट असूलीमा समस्या आएमा टेम्पो बिक्रेता संस्था बाबा अटोमाटा ट्रेडिङ्गले समेत सघाउनुपर्ने भएको छ । सो कर्जाका लागि बाबा अटोमाटा ट्रेडिङ्गले फिर्ता खरिद जमानीको लिखत गरिदिनुपर्नेछ । 

जमानतस्वरुप ५ लाख रुपैयाँको चल्ती खाता खोलि जम्मा गर्नु पर्नेछ । सो रकम बैंकले जमानतस्वरुप रोक्का राख्न पाउने सम्झौतामा उल्लेख छ । यदी कुनै सम्बन्धित ऋणीले समयमा तिर्नुपर्ने किस्ता समयमा नतिरेमा सोही रकमबाट असुल गर्न सकिने समेत सम्झौतामा उल्लेख छ ।

कर्जा स्वीकृत भई आवश्यक प्रक्रिया पूरा गरेपछि मात्र बैंकले सम्बन्धित ग्राहकलाई सवारी साधन उपलब्ध गराउन बैंकले बाबा अटोमाटा ट्रेडिङ्गलाई आदेश दिनेछ । सो सवारी साधन बैंकको नाममा सम्बन्धित ग्राहकलाई ऋणी जनाई नामसारी भई आएमा र सो सवारी साधनको बीमा भएको बीमापत्र, व्लूबुक बैंकलाई बुझाए पछि बाबा अटोमाटा ट्रेडिङ्गलाई भुक्तानी गरिदिने छ ।

यो सम्झौता २०७७/०९/३० सम्म लागू हुने छ । तर आपसी सहमतिमा निश्चित अवधिका लागि यो अवधि थप गर्न सकिने बैंकले जानकारी दिएको छ ।
सेवाग्राहीका साथै बैंकको हितलाई मध्यनजर गरेर बैंकले सो सम्झौता गरेको प्रमुख कार्यकारी अधिकृत विनय रिजालले जानकारी दिए । 

आफ्नो सेवाकालको १६ औं बर्षमा हिडिरहेको यो बैंकको मूख्य कार्यालय जनकपुरमा रहेको छ । बैंकले धनुषा, महोत्तरी र सिन्धुलीमा गरी तीन जिल्लाका विभिन्न स्थानमा गरी १२ स्थानमा शाखा विस्तार गरी सेवा विस्तार प्रदान गर्दै आएको छ । माघभित्र थप २ शाखा सञ्चालनमा ल्याउने तयारी गरिरहेको बैंकले यसै आर्थिक बर्षभित्र १७ शाखा पुर्याउने लक्ष्य लिएको छ ।