काठमाण्डौ । साउदी अरेबियाको तेल कम्पनी आरामकोले सन् २०२१ मा नाफा दोब्बर गरेपछि ऊर्जा उत्पादनमा आफ्नो लगानी द्रुत गतिमा बढाउने घोषणा गरेको छ। कम्पनीले आगामी पाँच वर्षभित्र उत्पादनमा उल्लेख्य वृद्धि गर्ने लक्ष्य लिएको छ।

आपूर्तिको तुलनामा माग बढी भएका कारण पछिल्ला महिनामा तेलको मूल्यमा उल्लेख्य वृद्धि भएको छ। युक्रेनको युद्ध र ऊर्जा आपूर्तिका लागि रुसमा निर्भर रहन नचाहने ऊर्जा आपूर्तिमा थप दबाब परेको छ।

आरामकोको यो कदमलाई लिएर ऊर्जाको उच्च मूल्यबाट समस्यामा परेका राजनीतिज्ञहरुले स्वागत गर्ने विश्वास गरिएको छ। आरामकोले उत्पादन बढाउन लगानी बढाउने निर्णय गरे पनि योजना आगामी ५ वर्षदेखि ८ वर्षको हो।

बेलायती प्रधानमन्त्री बोरिस जोनसनले गत साताा साउदी अरबको भ्रमण गरेका थिए। यस भ्रमणमा बोरिस जोनसनले साउदी अरेबियालाई छोटो अवधिका लागि विश्व बजारमा तेलको आपूर्ति बढाउन मनाउन खोजेका थिए।

तेल उत्पादक राष्ट्रहरुको समूह ओपेकमा साउदी अरब सबैभन्दा ठूलो उत्पादक हो। तेलको मूल्य पछिल्लो १४ वर्षयताकै उच्च स्तरमा रहेको छ। साउदी अरेबियाले उत्पादन बढाए मूल्य घटाउन सक्ने विश्वास गरिएको छ।

तर, मानवअधिकार उल्लंघनका लागि साउदी अरेबियाको आलोचना भइरहेको छ। यमन द्वन्द्वमा साउदी अरेबिया संलग्न छ। साउदीमाथि सन् २०१८ मा साउदी पत्रकार जमाल खशोग्गीको हत्या, असन्तुष्टहरुलाई जेल पठाउने र ठूलो संख्यामा मानिसहरुलाई मृत्युदण्डको सजाय दिएको आरोप छ।

बेलायतमा लेबर पार्टीले ऊर्जा संकट समाधान गर्न सरकारले तानाशाहबाट तानाशाहमा हात फैलाएको आरोप लगाएको छ। यसको जवाफ दिँदै बेलायती कुलपति ऋषि सुनकले प्रधानमन्त्रीले साउदी अरेबियासँग ऊर्जा आपूर्ति बढाउन गरेको वार्ता पूर्णतया सही भएको बताएका छन्।

कोरोना महामारीका बेला विश्व ऊर्जा बजारमा माग र आपूर्ति प्रभावित भएको थियो। जसका कारण तेलको मूल्यमा उल्लेख्य गिरावट आएको थियो। आर्थिक गतिविधिमा आएको मन्दीका कारण सन् २०२० मा आरामकोको नाफामा भारी गिरावट आएको थियो। 

धेरै देशहरुमा लकडाउन खुकुलो हुन थालेपछि र आर्थिक गतिविधिहरु ट्रयाकमा फर्किन थालेपछि सन् २०२१ मा ऊर्जाको मूल्य तीव्रगतिमा बढ्यो। जसका कारण लगभग सबै ठूला ऊर्जा कम्पनीको राजस्वमा ह्वात्तै वृद्धि भएको छ।

आरामकोले यो वर्ष आफ्नो पुँजीगत खर्च ४५ देखि ५० अर्ब डलरले बढाउने बताएको छ। कम्पनीको खर्चमा यो वृद्धि सन् २०२५ सम्म जारी रहनेछ। गत वर्ष कम्पनीले ३१.९ अर्ब डलर खर्च गरेको थियो।