साउदी अरबको राजपरिवारका एक सय ५० सदस्यलाई कोरोना भाइरसको संक्रमण भएको छ । 

यस्तो दाबी गर्दै अलजजिराले समाचार प्रकाशित गरेको हो । 

समाचारमा भनिएअनुसार राजा सलमान र युवराज मोहम्मद बिन सलमान दुवै आईसोलेसनमा बसेका छन्।

रियादस्थित इलाइट किङ फैजल अस्पतालका चिकित्सकले राज परिवारलाई पाँच सय शैय्या तयार गर्न भनेको बताएका छन्। देशभर रहेका भिआईपीका लागि ती शैय्याको माग गरिएको हो। चिकित्सकलाई हाई अलर्टमा बस्न पनि भनिएको समाचारमा उल्लेख छ।

अस्पतालले ‘टप अर्जेन्ट’ विरामीलाई मात्र उपचारका लागि लिने जनाएको छ। ८४ वर्षीय सलमान जेदाहस्थित एक टापुमा रहेको दरबारमा बसेका छन् भने युवराज मोहम्मद बिन सलमान  ग्रामिण क्षेत्रमा बसेका छन्।

साउदी राज परिवारमा १५ हजार सदस्य छन्। राजकुमारहरु धेरै छन्। उनीहरु नियमितरुपमा युरोप गइरहने भएकाले उतैबाट भाइरस ल्याएका हुनसक्ने आशंका गरिएको समाचारमा जनाइएको छ । 

रियादका गभर्नर रहेका ७० वर्षीया राजकुमार फैजल बिन बन्दर बिन अब्दुल्लाहजिज अल साउदी कोरोना भाइरसको संक्रमणपछि आईसीयूमा उपचार गराइरहेका छन्। 

साउदी अरबको कुल जनसंख्या ३ करोड ३० लाख रहेको छ । यहाँ हालसम्म कोरोना भाइरसका कारण ४१ जनाको मृत्यु भइसकेको छ भने २९०० बढी संक्रमित छन् ।