– मनिष सोती

काठमाण्डौ । नेपाल बीमा प्राधिकरणबाट लघुबीमाको लाइसेन्स पाएका ४ वटा लघुबीमा कम्पनीमध्ये हालसम्म २ वटा कम्पनीले मात्रै कारोबार सञ्चालन गरिरहेका छन्। 

प्राधिकरणले गार्डियन माइक्रो लाइफ इन्स्योरेन्स, नेपाल माइक्रो इन्स्योरेन्स, प्राटेक्टिभ माइक्रो इन्स्योरेन्स, क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सलाई लघुबीमा व्यवसाय संचालनको लागि औपचारिक स्वीकृति दिएको हो। त्यसमध्ये गार्डियन माइक्रो लाइफ र नेपाल माइक्रो इन्स्योरेन्सले कारोबारसमेत सुरु गरिसकेका छन्। 

सबै पूर्वाधार तयार पारेर बसेका प्रोटेक्टिभ माइक्रो र क्रेस्ट माइक्रो लाइफ पनि चाँडै लघुबीमा व्यवसाय सञ्चालन गर्ने तयारीमा रहेका छन्। 

प्राधिकरणले लघुबीमा कम्पनी स्थापनाका लागि बाटो खुलाउँदै गत भदौ ६ गते लघुबीमा संस्थापना तथा दर्तासम्बन्धी निर्देशिका २०७९ जारी गरेको थियो। निर्देशिकाअनुसार लघुबीमा कम्पनीको चुक्तापुँजी कम्तीमा ७५ करोड रुपैयाँ हुनुपर्नेछ। 

न्यूनतम चुक्तापुँजी पुर्याएका ४ कम्पनीमध्ये २ कम्पनीले अझै पनि औपचारिक कारोबार थालनी गरेका छैनन्। त्यसमध्ये क्रेष्ट माइक्रो लाइफ इन्स्योरेन्सले प्राधिकरणबाट गत चैत २८ गते लघुबीमा व्यवसाय सञ्चालन गर्नका लागि लाइसेन्स प्राप्त गरेको थियो। 

क्रेस्ट माइक्रो लाइफका प्रमुख कार्यकारी अधिकृत (सीईओ)मा प्रतापमान श्रेष्ठ छन् भने कम्पनी सञ्चालक समितिको अध्यक्षमा ऋषिराज मोर छन्। कम्पनीको केन्दी्रय कार्यालय कर्णाली प्रदेशको सुर्खेतको वीरेन्द्रनगरमा रहने छ। 

‘बीमा प्राधिकरणबाट टर्म पोलिसी स्वीकृत भइसकेको छ’ सीईओ श्रेष्ठले भने, ‘एक्चुरी भने आउन बाँकी छ, पूर्वाधारदेखि लिएर सम्पूर्ण कार्यहरुको तयारी पूरा भइसकेको छ, साउनको दोस्रो साताभित्र कारोबार थालनी गर्नेछौँ।’ 

यसका साथै लघुबीमाको लाइसेन्स प्राप्त गरेको प्रोटेक्टिभ माइक्रो इन्स्योरेन्सले पनि औपचारिक रुपमा लघुबीमा व्यवसाय सञ्चालन गर्न बाँकी नै छ। कम्पनीको सीइओमा नरेशकुमार रोक्का छन्। कम्पनीको केन्द्रीय कार्यालय धनगढीमा रहनेछ। ‘लघुबीमाको लाइसेन्स पाएका सम्पूर्ण कम्पनीलाई असार मसान्तमा बीमा प्राधिकरणले कारोबार सञ्चालन गर्न स्वीकृत दिइसकेको छ’, सीईओ रोक्काले भने, ‘आफ्नोतर्फबाट कारोबार थालनी गरिसकेका छौँ तर औपचारिक उद्घाटन भने साउन १२ गते गर्ने तयारी रहेको छ।’ 

यसका साथै कम्पनीले घर बीमाबाहेकका अन्य सम्पत्ति बीमा पोलिसी प्राधिकरणबाट स्वीकृत गराई सोही पोलिसीबाट हाललाई व्यवसाय सुरु गर्ने सीइओ रोक्काले बताए। 

प्राधिकरणको निर्देशिकाअनुसार लघुबीमा कम्पनीहरु पब्लिक लिमिटेड कम्पनीका रुपमा दर्ता हुनुपर्नेछ र चुक्तापुँजीको न्यूनतम ३० प्रतिशत सेयर सर्वसाधारणलाई निष्काशन गर्नुपर्नेछ। 

यसका साथै प्राधिकरणका अनुसार ग्रामीण एवं दुर्गम भेगमा बसोबास गर्ने नागरिकले आफ्नो स–सानो रकमबाट आफू र आफ्नो परिवार, घर, व्यवसाय, खेतीपाती, पशुपन्छी, जडीबुटीलगायतको बीमा गरी बीमा कम्पनीहरुलाई हस्तान्तरण गर्न लघुबीमा कम्पनीलाई लाइसेन्स दिइएको हो।