काठमाण्डौ । बैंक तथा वित्तीय संस्थाहरुबाट रिपोमा मागभन्दा बढीको आवेदन पर्ने क्रम जारी नै रहेको छ। 

नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय बैंकिङ प्रणालीमा लगानीयोग्य रकम (तरलता)को अभाव हुन नदिन २० अर्ब रुपैयाँको रिपो बिहीबार जारी गरेको थियो। जसमा बैंक तथा वित्तीय संस्थाहरुबाट ३३ अर्ब रुपैयाँबराबरको रिपोका लागि आवेदन परेको हो। 

यसले बैंकिङ प्रणालीमा अझै पनि तरलताको सहजता नरहेको बुुझाउँछ। यद्यपि राष्ट्र बैंकले भने मागभन्दा पनि आफूले जारी गरेको रिपोमात्रै बजारमा पठाउने गर्दछ। 

राष्ट्र बैंकका अनुसार रिपोका लागि ११ बैंक तथा वित्तीय संस्थाले ३१ वटा आवेदनमार्फत ३३ अर्ब रुपैयाँबराबरको बोलकबोल पेस गरेका थिए। जसमा न्युूनतम ८.३४०० प्रतिशत र अधिकतम ८.५३०० प्रतिशत ब्याजदरमा बैंकहरुले उक्त रिपामा आवेदन गरेका हुुन्। यद्यपि यो रिपोको औसत ब्याजदर भने ८.४४५५ प्रतिशत कायम भएको छ। 

राष्ट्र बैंकले आउँदो असोज ६ गते परिपक्व हुने गरी ७ दिने रिपो जारी गरेको हो। बैंकिङ प्रणालीमा तरलताका समस्या देखिएमा राष्ट्र बैंकले अल्पकालीन अवधिको रिपो जारी गर्ने गर्दछ।

चालुु आर्थिक वर्षमा पनि बैंकिङ क्षेत्रमा तरलताको समस्या कायमै रहेको छ। चालुु आर्थिक वर्ष सुुरु भएयता राष्ट्र बैंकले बैंकिङ प्रणालीमा तरलताको अभाव हुन नदिन ३ पटकमा ७० अर्ब रुपैयाँ पठाएको छ। यसमा झन्डै ४५ बैंक तथा वित्तीय संस्थाहरुबाट १ खर्ब २३ अर्बको आवेदन परेको थियो।