काठमाण्डौ । माछापुच्छे बैंक लिमीटेडले आगामी साउन ५ गतेदेखि १२ प्रतिशतको दरले हकप्रद सेयर बिक्री खुल्ला गर्ने भएको छ । 

बैंकले सोमबार एक सूचना प्रकाशित गर्दै साउन ५ गतेदेखि खुल्ला हुने हकप्रद खरीदका लागि भदौ ७ गतेसम्म आवेदन दिनसक्ने जनाएको छ । 

यो बैंकले १ सय रुपैयाँ अंकित दरका कुल ७९ लाख १८ हजार ४ सय ४० कित्ता हकप्रद बिक्रीका लागि खुल्ला गर्नेछ । हकप्रदका लागि बैंकले बुक क्लोजको मिति जेठ १६ गतेलाई तोकेको थियो । जेठ १४ गतेसम्म यो बैंकको सेयर खरीद गरेका वा आफ्नो नाममा नामसारी गरेकाहरुले हकप्रदका लागि आवेदन दिन पाउने बताइएको छ । 

बैंकको हकप्रद निश्कासन तथा बिक्री प्रबन्धको काम एनएमबी क्यापिटल लिमीटेडले गर्नेछ । इच्छुक सेयरधनीले काठमाण्डौको नक्सालस्थित एनएमबी क्यापिटलको मुख्य कार्यालय र माछापुच्छे बैंकका सबै शाखा कार्यालयबाट हकप्रदको आवेदन दिनसक्ने व्यवस्था मिलाइएको छ।

यो बैंकको चुक्तापूँजी हाल ६ अर्ब ५९ करोड रुपैयाँ रहेको छ । हकप्रद निश्कासनपछि चुक्तापूँजी ७ अर्ब ३९ करोडको उचाईमा पुुग्नेछ । 

यो बैंकले चालुु आर्थिक वर्षको तेश्रो त्रैमाससम्म १ अर्ब खूद नाफा आर्जन गरेको थियो ।