– रेखा चन्द

काठमाण्डौ । निक्षेप तथा कर्जा सुरक्षण कोषले चालु आर्थिक वर्ष २०७९–८० को माघ महिनासम्ममा ५७ बैंक तथा वित्तीय संस्थाहरुको ११ खर्ब ५९ अर्ब बराबरको निक्षेप सुरक्षण गरिएको जनाएको छ। 

प्राकृतिक व्यक्तिको नाममा रहेको बचत, मुद्दति, चल्ती र कल खातामा रहेको ५ लाखसम्म सुरक्षित हुने निक्षेपकर्ताको संख्या बढेर ४ करोड ५८ लाख ८८ हजार ३ पुग्दा बैंक तथा वित्तीय संस्थाहरुको ११ खर्ब ५९ अर्ब रुपैयाँ निक्षेप सुरक्षण भएको कोषका प्रवक्ता विनोद पन्तले बताए। जुन गत आर्थिक वर्षको माघ महिनामा ६२ बैंक तथा वित्तीय संस्थाहरुका ३ करोड ४३ लाख ४६ हजार ६ निक्षेपकर्ताको ८ खर्ब ६८ अर्ब बराबरको निक्षेप सुरक्षण भएको थियो। 

कोषले आर्थिक वर्ष २०७९–८० मा कुल निक्षेपकर्ताकको संख्या ३ करोड ४५ लाख हुने अनुमान गरेको थियो। तर, चालु आर्थिक वर्षको माघ मसान्तमा निक्षेपकर्ताको संख्या बढेर ४ करोड ५ लाख ८८ हजार भई लक्ष्यको ११७.६५ प्रतिशत प्रगति हासिल भएको प्रवक्ता पन्तको भनाइ छ। ‘तुलनात्मक रुपमा विश्लेषण गर्दा आर्थिक वर्षको यस अवधिसम्ममा सुरक्षित निक्षेपकर्ताको संख्यामा १८.३२ प्रतिशत वृद्धि भएको देखिन्छ’, उनले भने, ‘माघ महिनासम्ममा निक्षेप सुरक्षण रकममा पनि ३३.७ प्रतिशतले बढोत्तरी आएको देखिन्छ।’

यस अवधिमा कोषले २२ वाणिज्य बैंकको सबैभन्दा धेरै १० खर्ब १ अर्ब ८५ करोड ८९ लाख रुपैयाँ निक्षेप सुरक्षण भएको जानकारी दिएको छ। जसमा निक्षेपकर्ताको संख्या ३ करोड ४९ लाख २० हजार ३४५ रहेको छ। 

त्यसैगरी १७ विकास बैंकहरुका ५० लाख ३६ हजार २३३ निक्षेपकर्ताको १ खर्ब ३६ अर्ब १८ करोड ८५ लाख रुपैयाँबराबरको निक्षेप सुरक्षण हँदा १६ फाइनान्स कम्पनीका ५ लाख ७१ हजार ९१५ निक्षेपकर्ताहरुको २० अर्ब ४० करोड ८१ लाख रुपैयाँबराबरको निक्षेप सुरक्षण गरिएको कोषले जनाएको छ।

त्यसैगरी माघ महिनासम्म २ लघुवित्त वित्तीय संस्थाका ६० हजार ३१० निक्षेपकर्ताको १ अर्ब २० करोड ६६ लाख बराबरको निक्षेप सुरक्षण भएको छ।

रु. १.३७ अर्ब बढी निक्षेप सुरक्षण शुल्क प्राप्त

बैंक तथा वित्तीय संस्थाले निक्षेपकर्ताको रकम सुरक्षण गरेबापत वार्षिक ०.१६ प्रतिशत प्रिमियम भुक्तानी गर्नुपछ । त्रैमासिक रुपमा भने ०.०४ प्रतिशत शुल्क भुक्तानी गर्नुपर्छ। 

चालु आर्थिक वर्षको माघ मसान्तसम्ममा कोषले १ अर्ब ३७ करोड ४६ लाख रुपैयाँ निक्षेप सुरक्षण शुल्क संकलन गरेको छ। अघिल्लो वर्षको सोही अवधिमा निक्षेप सुरक्षण शुल्कवापत कोषले १ अर्ब २ करोड २३ लाख प्राप्त गरेको कोषका प्रवक्ता पन्तले बताए। ‘गत आर्थिक वर्षको माघ मसान्तसम्मको निक्षेप सुरक्षण शुल्कसँग तुलनात्मक रुपमा विश्लेषण गर्दा यस आर्थिक वर्षको यस अवधिसम्ममा निक्षेप सुरक्षण शुल्कमा ३४.४६ प्रतिशतले वृद्धि भएको देखिन्छ’, उनले भने। 

कोषले यो वर्ष कुल निक्षेप सुरक्षण शुल्क १ अर्व ५० करोड संकलन गर्ने लक्ष्य लिएको थियो। माघसम्ममा कुल निक्षेप सुरक्षण शुल्क १ अर्ब ३७ करोड ४६ लाख कोषलाई प्राप्त हुँदा लक्ष्यको ९१.६४ प्रतिशतले प्रगति हासिल भएको छ।

९ लाखभन्दा बढी ऋणीको कर्जा सुरक्षण

निक्षेप तथा कर्जा सुरक्षण कोषको प्रधान कार्यालयले मात्रै माघसम्म विभिन्न प्रकारका कर्जा लिएका ९ लाख २४ हजार ऋणीको १ खर्ब ८० अर्ब ६० करोड बरारबको कर्जा सुरक्षण गरेको गरेको छ। जसबाट ७४ करोड ८ लाख रुपैयाँ सुरक्षण शुल्क संकलन भएको छ। 

कोषको प्रधान कार्यालयले श्रावनसम्म ८ लाख ८७ हजार ऋणीको १ खर्ब ७४ अर्ब ६५ करोड रुपैयाँबरारबको कर्जा सुरक्षण गरेको थियो। यसबाट कोषलाई ६७ करोड ७० लाख रुपैयाँ सुरक्षण शुल्क प्राप्त भएको थियो।

कोषको तथ्यांकअनुसार माघसम्म लघुवित्त तथा विपन्न कर्जा लिएका ८ लाख २३ हजार ऋणीको १ खर्ब १० अर्ब ९ करोड रुपैयाँ, सहुलियतपुर्ण कर्जा लिएका ८४ हजार ऋणीको ५ अर्ब १५ करोड रुपैयाँ, कृषि कर्जा लिएका १० हजार ऋणीको ९ अर्ब १० करोड रुपैयाँ र साना तथा मझौला उद्यम कर्जा लिएका ६ हजार ऋणीको १२ अर्ब ४४ करोड रुपैयाँ बराबरको कर्जा सुरक्षण गरिएको छ।

यो अवधिमा कोषले १४ बैंक तथा वित्तीय संस्थासँग विभिन्न कर्जा सुरक्षण कार्यक्रममा सम्झौता भई व्यवसाय विस्तार गरेको छ।