काठमाण्डौ । हालैमा नेपालका विभिन्न बैंक तथा वित्तीय संस्थामा आर्थिक अपचलनका खबरहरु सार्वजनिक भइरहेका छन् । कतिपय अपचलनका घटनामा संलग्नहरु पक्राउ परिसकेका छन् र कतिपय घटनाका अनुसन्धान भइरहेका छन् ।

हालैमात्र बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठ बैंक घोटाला प्रकरणका कारण थुनामा छन् । देवः विकास बैंकलगायतका वित्तीय संस्थाहरुमा पनि केही यस्ता घटना सार्वजनिक भएका छन् । 
विकासोन्मुख देशहरुमा बैंक तथा वित्तीय संस्थाहरुमा यस्ता विभिन्न घोटाला भइरहन्छन् । यस्ता घटना हुने मुलुकमध्ये भारतको अगाडि आउने गरेको छ ।

यसअघि भारतमा पञ्जब नेसनल बैंक (पीएनबी) घोटाला प्रकरणले विश्वभर बैंकिङ जगतमा तरंग पैदा गरिदिएको थियो । यस्ता ठूला घटनापछि पनि बैंक फ्रडका घटना त्यहाँ कम भएका छैनन् । 

हालै भारतमा भारु सात हजार करोड बैकिङ फ्रडको घटनाले पुनः त्यहाँको बैंकिङ क्षेत्रको माहौल तताएको छ ।

यो प्रकरणमा भारतको केन्द्रीय जाँच ब्युरो (सीबीआई) ले मंगलबार दिल्ली, चण्डीगढ, उत्तरप्रदेश, मध्यप्रदेश, गुजरातजस्ता विभिन्न राज्यका १६९ मा रहेका बैंकहरुमा छापा मार्यो । सीबीआईले अनुसन्धान थालेपछि ती स्थानमा रहेका बैंक कर्मचारीहरुको भागभाग हुन थालेको छ ।

यो बैंकिङ फ्रडमा ३५ वटा मुद्दा सीबीआईसम्म पुगेको छ । सीबीआईले यो मामिलाको अनुसन्धान भइरहेकोले थप जानकारी दिइसकेको छैन । –एजेन्सी