काठमाण्डौ । सानिमा बैंक लिमिटेडको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा निश्चलराज पाण्डे नियुक्त भएका छन्। 

बैंक सञ्चालक समितिको पुस २ गते बसेको बैठकले पाण्डेलाई सीईओमा नियुक्ति गर्ने निर्णय गरेको हो। 

सञ्चालक समितिले आउँदो माघ १२ गतेदेखि लागू हुने गरी पाण्डेलाई सीईओमा नियुक्ति गरेको छ। उनको कार्यकाल ४ वर्षको हुनेछ। हाल उनी बैंकमा नायब सीईओ छन्। 

बैंकका सीईओ भुवनकुमार दाहालको कार्यकाल आउँदो माघ ११ गतेबाट समाप्त हुँदैछ। माघ १२ गतेबाट पाण्डेले सीईओ जिम्मेवारी सम्हाल्नेछन्। 

बैंकिङ क्षेत्रमा २६ वर्ष लामोे अनुभव सँगालेका पाण्डेले यसअघि नबिल बैंकमा १८ वर्ष काम गरिसकेका छन्। कर्जाको विषयमा राम्रो विज्ञता राखेका पाण्डेले बैंकको प्रमुख जोखिम अधिकृत र प्रमुख कर्जा अधिकृतको जिम्मेवारी निभाइसकेका छन् भने सानिमा क्यापिटलको सञ्चालक रहिसकेका छन्। उनको कार्यकालमा बैंक थप सफलताको उचाइमा पुग्न सफल हुनेछ भन्ने विश्वास बैंकले लिएको छ।