काठमाण्डौ । सानिमा क्यापिटल मार्केटको पहिलो म्युचुअल फण्डमा लगानी गर्न झञ्झटिलो लाग्दैछ भने तपाईका लागि बजारमा नयाँ विकल्प आएको छ । यसअघि केही म्युुचुुअल फण्ड दोश्रो बजारमा प्रति इकाई १० रुपैयाँ भन्दा कम मूल्यमा फालाफाल पाइराखिएको रिपोर्ट हामीले प्रकाशित गरिसकेका छौ । शुक्रबार कात्तिक मसान्तसम्मको वित्तीय विवरण सार्वजनिक गरेको ग्लोबल आइएमई समुन्नत योजना–१ मा पनि यस्तो अवसर देखिएको छ । 

यो फण्डको दोश्रो बजारमा प्रति इकाई १० रुपैयाँको हाराहारीमा कारोबार भइरहेको छ । तर, कात्तिक मसान्तसम्ममा यो स्किमको प्रति इकाई खूद सम्पत्ति मूल्य(न्याभ) घटेर १० रुपैयाँ तल झरेको छ । असोज मसान्तसम्म १० रुपैयाँ ३४ पैसा रहेको न्याभ घेर ९ रुपैयाँ ९० पैसामा सीमित बन्न पुुगेको हो । 

समीक्षा अवधिसम्म यो स्किमले सूचिकृत सेयरमा ६३ करोड ७९ लाख रुपैयाँ लगानी गरेको छ । यस्तै, सूचिकृत नभएका सेयरमा ६ करोड ५७ लाख, मुद्धती निक्षेपमा ५ करोड लगानी गरेको छ ।

यो स्किमको असोज मसान्तको अवधिमा कात्तिक मसान्तसम्मको नाफामा भारी गिरावट आएको छ । असोज मसान्तसम्म ८ करोड ७० लाख नाफामा रहेको यो स्किम कात्तिक मसान्तसम्म भने ४ करोड २८ लाख नाफामा सीमित बन्न पुुगेको छ । 

यो अवधिसम्म स्किमले १५ वाणिज्य बैंक,२२ माइक्रोफाइनान्स, ५ फाइनान्स, ६ जलविद्युत आयोजना, ७ लाइफ इन्स्योरेन्स कम्पनी, ८ नन्लाइफ इन्स्योरेन्स कम्पनी, ३ होटल, २ म्युचुुअल फण्ड, १ प्रिफरेन्स सेयर र १ सिटिजन इन्भेष्टमेन्ट ट्रस्टमा लगानी गरेको छ ।