काठमाण्डौ । सानिमा बैंक लिमिटेडको आज कात्तिक २ गते १९ औँ वार्षिक साधारणसभा हुँदैछ। 

सभा काठमाण्डौको चन्डोलस्थित कुण्डलिनी बैंक्वेटमा बिहान ११ बजेबाट सुरु हुनेछ। सभाले २०८० साल असार मसान्तसम्म कायम रहेको सञ्चित मुनाफाबाट चुक्तापुँजीको ५.७० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागिसमेत) वितरण गर्ने सञ्चालक समितिको प्रस्ताव अनुमोदन गर्नेछ। सोही सभाले चुक्तापुँजीको ९ प्रतिशत बोनस सेयर वितरणको प्रस्तावन पनि पारित गर्नेछ। 

सभामा आर्थिक वर्ष २०७९–८० को सञ्चालक समितिको वार्षिक प्रतिवेदन छलफल गरी पारित गर्ने, लेखापरीक्षकको प्रतिवेदनसहितको वित्तीय अवस्थाको विवरण, आयव्यय विवरणसमेत पारित गर्ने अजेन्डा छन्। 

वार्षिक साधारणसभा र लाभांश वितरण प्रयोजनार्थ बैंकले गत असोज २२ गते १ दिन सेयरधनी दर्ता किताब बन्द (बुक क्लोज) गरेको थियो। यसको अर्थ गत असोज २१ गतेसम्म कायम सेयरधनीहरु यो बैंकको साधारणसभामा सहभागी हुन र घोषित लाभांश पाउन योग्य भएका छन्।