काठमाण्डौ । सानिमा म्युचुअल फन्डअन्तर्गत सञ्चालित सानिमा इक्विटी फन्डको साउन मसान्तसम्म प्रतिइकाइ खुद सम्पत्ति मूल्य (न्याभ) ११.७१ रुपैयाँ पुगेको छ।

आज सार्वजनिक वित्तीय विवरणअनुसार यो गत महिना असारको तुलनामा ३२ पैसाले बढी हो। गत महिना यो फन्डको न्याभ ११.३९ रुपैयाँ कायम भएको थियो।

योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेड रहेको यो ७ वर्षे फन्डको कुल नाफा ४ करोड २५ लाख रुपैयाँ रहेको छ। जुन अघिल्लो महिना १७ करोड ६५ लाख रुपैयाँ रहेको थियो।

यो फन्डको कुल लगानी साउन मसान्तसम्म १ अर्ब ३० करोड रुपैयाँ रहेको छ। जुन असार मसान्तसम्मको तुलनामा ४.८३ प्रतिशतले बढी हो। गत असार मसान्तसम्म यो फन्डको कुल लगानी १ अर्ब २४ करोड रुपैयाँ रहेको थियो। 

साउन मसान्तसम्म यो फन्डले सूचीकृत सेयरमा १ अर्ब ६ करोड रुपैयाँ लगानी गरेको छ। असारमा यो फन्डले सूचीकृत सेयरमा १ अर्ब १ लाख रुपैयाँ लगानी गरेको थियो। 

त्यस्तै फन्डले सार्वजनिक निष्कासन, हकप्रद सेयर र बोनस सेयरमा ३ करोड १४ लाख रुपैयाँ, ऋणपत्र र बन्डमा ७ करोड ५२ लाख रुपैयाँ र मुद्दति निक्षेपमा १३ करोड रुपैयाँ लगानी रहेको छ। 

यो फन्डले हालसम्म सूचीकृत २३ वटा वाणिज्य बैंक, १३ वटा विकास बैंक, १८ वटा लघुवित्त कम्पनी, ३ वटा जीवन बीमा कम्पनी, ५ वटा निर्जीवन बीमा कम्पनी, ७ वटा जलविद्युत् कम्पनी, ४ वटा सामूहिक लगानी कोष, ३ वटा अन्य समूहका कम्पनी र एउटा उत्पादन तथा प्रशोधन समूहको कम्पनीमा लगानी गरेको छ।