काठमाण्डौ । सानिमा लाइफ इन्स्योरेन्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासमा ९५ करोड ६३ लाख रुपैयाँ बढी बीमा शुल्क आर्जन गरेको छ।

कम्पनीको आज सार्वजनिक वित्तीय विवरणअनुसार समीक्षा अवधिमा बीमा शुल्क आर्जन गत वर्षको यही अवधिको तुलनामा १३४.७७ प्रतिशतले बढी हो। अघिल्लो वर्षको यही अवधिमा बीमा शुल्क आर्जन ४० करोड ७३ लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा यो कम्पनीले लगानी, कर्जा तथा अन्यबाट हुने आय १७३.८० प्रतिशतले बढाएर ५६ करोड ६८ लाख रुपैयाँ पुर्याएको छ। अघिल्लो वर्ष यस्तो आय २० करोड ७० लाख रुपैयाँमा सीमित थियो। 

यो अवधिमा कम्पनीले ५ करोड ८२ लाख रुपैयाँबराबरको दाबी भुक्तानी गरेको छ। अघिल्लो वर्ष यही अवधिसम्म यस्तो भुक्तानी ८ लाख ३० लाख रुपैयाँमा सीमित थियो। 

समीक्षा अवधिमा कम्पनीको व्यवस्थापन खर्च १० करोड १२ लाख रुपैयाँ पुगेको छ। गत वर्ष यही अवधिमा कम्पनीको व्यवस्थापन खर्च ८ करोड ३९ लाख रुपैयाँ रहेको थियो। 

समीक्षा अवधिमा कम्पनीले जीवन बीमा कोषको आकार बढएर १ अर्ब ६३ करोड पुर्याएको छ। अघिल्लो वर्ष यस्तो कोषको आकार ६७ करोड ८ लाख रुपैयाँमा सीमित थियो। 

अघिल्लो वर्षको यही अवधिसम्म ९ करोड ९५ लाख रुपैयाँको जगेडा तथा कोषको आकार बढेर १७ करोड १९ लाख रुपैयाँमा पुगेको छ। त्यस्तै महाविपत्ति जगेडाको आकार १ करोड १० लाख रुपैयाँबाट बढेर १ करोड ८९ लाख रुपैयाँ पुगेको छ। 

दोस्रो त्रैमासमा कम्पनीको नाफा १५.४० प्रतिशतले बढेर ५ करोड ५४ लाख रुपैयाँ भएको छ। गत वर्ष यही अवधिमा कम्पनीको नाफा ४ करोड ८० लाख रुपैयाँ रहेको थियो।