काठमाण्डौ । मर्जरपछि बनेको सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनीले साबिक ज्योति लाइफ इन्स्योरेन्सको मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय गरेको छ। 

कम्पनी सञ्चालक समितिको आज बसेको बैठकले यस्तो निर्णय गरेको हो। ‘साबिक ज्योति लाइफ इन्स्योरेन्स आर्थिक वर्ष २०७९–८०को साउन १ गतेदेखि पुस ६ गतेसम्मको वित्तीय विवरणअनुसार मुनाफामा रहेको छ’, कम्पनी सचिव भरत केसीले भने, ‘उक्त मुनाफा रकम जगेडा कोषमा राख्ने निर्णय भएको छ।’

साबिक ज्योति लाइफ र सूर्या लाइफ इन्स्योरेन्स आपसमा गाभिएर सूर्यज्योति लाइफ इन्स्योरेन्स कम्पनी बनेको छ। मर्जरपछि बनेको सूर्यज्योति लाइफले गत वर्ष पुस ७ गतेदेखि एकीकृत कारोबार सुरु गरेको थियो। 

यसैगरी आज बसेको बैठकले साबिक ज्योति लाइफको पुँजी, रिजर्भ, लगानी रकम, जीवन बीमा कोषलगायत सम्पूर्ण सम्पत्ति तथा दायित्व सूर्यज्योति लाइफमा समायोजन गर्ने निर्णय पनि गरेको छ।