काठमाण्डौ । नेपाल राष्ट्रबैंकले सिटिजन्स बैंक इन्टरनेशनलद्वारा प्रिमियर फाइनान्सलाई प्राप्ति गर्ने(एक्वायर) प्रक्रियालाई अन्तिम स्वीकृति प्रदान गरेको छ । 

केन्द्रीय बैंकबाट अन्तिम स्वीकृति पाएपछि दुवै संस्थाले आगामी साउन २ गतेदेखि संयुक्त कारोबार थाल्ने बताएका छन् । 

केन्द्रीय बैंकले दुवै संस्थाको एक्वायर प्रक्रियालाई गत असार २० गते अन्तिम स्वीकृति प्रदान गरेको थियो । प्रिमियर फाइनान्स समाहित भएपछि ‘सिटिजन्स बैंक इन्टरनेशनल’कै नामबाट कारोबार हुने बताइएको छ । 

दुई संस्थाले यसअघि नै १ः०.२८ को सेयर स्वाप रेसियोमा सहमति जनाइसकेका छन् । एक्विजिसनपछि संस्थाको केन्द्रीय कार्यालय काठमाण्डौ ३१, कमलादीमा रहने बताइएको छ । 

सिटिजन्स बैंकको चुक्तापूँजी ३ अर्ब  ६ करोड रुपैयाँ रहेको छ । यो बैंकले असार ५ गतेदेखि ५५ प्रतिशत हकप्रद सेयर निश्कासन गरेको थियो । हकप्रदको व्यवस्थापनपछि बैंकको चुक्तापूँजी ४ अर्ब ७४ करोड पुग्नेछ । यो बैंकले चालु आर्थिक वर्षको तेश्रो त्रैमासमा ७२ करोड ८० लाख खूद नाफा आर्जन गरेको थियो । 

उता, प्रिमियर फाइनान्स कम्पनी लिमीटेडको चुक्तापूँजी १२ करोड ७० लाख रुपैयाँ रहेको छ । यो फाइनान्सले अघिल्लो आर्थिक वर्षमा ५ करोड ४६ लाख खूद नाफा आर्जन गरेको थियो ।