काठमाडौँ । सिटिजन्स बैंक इन्टरनेशनलले चालू आर्थिक वर्ष २०७४/०७५ मा पहिलो नौ महिनाको अवधिमा ९० लाख रुपैयाँ बराबरको सामाजिक कार्यक्रम सञ्चालन गरेको छ ।
 
२०६४ साल वैशाख ७ गते स्थापना भएको बैंकले एघारौँ वर्ष पूरा गरी बाह्राैँ प्रवेशको उपलक्ष्यमा केन्द्रीय कार्यलयमा आयोजित एक कार्यक्रम गरी सो जानकारी दिएको हो । संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत बैंकले विभिन्न सामाजिक संस्था, विद्यालय, वृद्धाश्रम लगायतका संस्थालाई सो रकम बराबरको सहयोग गरेको जानकारी दिएको हो । 
 
बाल विकास समाज कपन, काठमाडौँमार्फत् बैंकले १५ जना गरिब, पिछडिएको तथा जेहेन्दार विद्यार्थीलाई १ लाख ५० हजार रुपैयाँ बराबरको छात्रवृत्ति प्रदान गरेको छ । स्नो याक फाउन्डेशनमार्फत माथिल्लो डोल्पाका विद्यार्थीहरुलाई शिक्षा प्रदान गर्ने उदेश्यले १ लाख प्रदान गरेको छ भने बाल बालिका क्षेत्रमा सामाजिक काम गर्दै आएको ‘साथ’ १ लाख रुपयौ सहयोग गरेको छ । यसैगरी बेबी होम लाईफलाई २ लाख, मानव अंग प्रत्यारोपण केन्द्रलाई २ लाख , कमल निमाविलाई २ लाख ५० हजार, अभय उपचार केन्द्रलाई २ लाख सहयोग प्रदान गरेको छ । कुलेश्वर माविलाई १ लाख ५० हजार, स्थास्थ्य सेवा प्रदान गर्दै आएको क्लिनिक वानलाई १ लाख रुपैयाँ आर्थिक सयहयोग गरेको छ  । यसैगरी विभिन्न संघसंस्था तथा निकायलाइ जिन्सी सहयोग गरिएको बैंकले आयोजना गरेको पत्रकार सम्मेलनमा जानकारी दिइएको छ । 
 
बैंकले वार्षिकोत्सवको अवसरमा विभिन्न सामाजिक सेवा मूलक तथा खेलकुदका कार्यक्रम पनि सञ्चालन गर्ने भएको छ । विभिन्न १० वटा शाखा कार्यालयमा भव्यताका साथ कार्यक्रम गरी वार्षिकोत्सव मनाएको बैंकले केन्द्रीय कार्यालय परिसरमा रक्तदान कार्यक्रम आयोजना गरेको थियो ।
 
यसैगरी, खेलकुद क्षेत्रको समेत विकास गर्ने उदेश्यले ‘सिटिजन्स गल्फ टुर्नामेन्ट २०१८’ र काठमाडौँ जिल्ला लन टेनिस संघको सहभागितामा छैठौं सिटिजन्स लन टेनीस टुर्नामेन्ट समेत आयोजना गर्न लागिएको जानकारी  बैंकले दिएको छ । लन टेनीसमा मात्र पाँच लाख ६० हजार रुपैयाँ बराबरका पुरस्कार बैंकले प्रायोजन गरेको हो ।
 
हाल ६८ वटा शाखामार्फत् सेवा प्रदान गर्दै आएको बैंकले चालू आर्थिक वर्षको पहिलो नौ महिनाको अवधिमा मात्र १ अर्ब ९८ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ ।